काठमाण्डौ । राजीनीतिक वातावरण बिथोलिएर बजार घट्ने आशंकाले लगानीकर्तालाई त्रस्त बनाएपछि सेयर बजारमा बिक्रीको उच्च चाप परेको छ । यही कारण १७ सय माथि पुगिसकेको नेप्से परिसुचक मंगलबारसम्म ठुलो अन्तरमा घटेर १६१२.०४ को विन्दुमा झरिसकेको छ ।

मंगलबार नेप्से परिसुचकमा ३९.५७ अंकको पहिरो गएको हो । उत्पादनमुलक बाहेक सबै समुहको सुचकमा रातो पोतिएको छ ।

तीन समुहको परिसुचक २ प्रतिशत भन्दा बढी, एक समुहको सुचक ३ प्रतिशत र अर्को एक समुहको सुचक ४ प्रतिशतको हाराहारीमा घटेको छ ।

वाणिज्य बैंक समुहमा ४४.०७, विकास बैंकमा ३८.८७, बित्त समुहमा १.०५ र बिमा समुहमा १८४.४७ अंकको पहिरो गएको छ । यस्तै, होटल समुहमा ४६.३७, जलविद्युत समुहमा ७१.२४ र अन्य समुहमा ६.०७ अंकले घटेको छ । यस्तै, उत्पादनमुलकमा चाहि ८.९६ अंकको बढोत्तरी भएको छ ।

‘क’ वर्गका कम्पनीमा लगानीकर्ताको आकर्षण ह्वात्तै घटेका कारण सेन्सेटिभ इण्डेक्स ९.०८ र फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार सेयर बिक्री उच्च चाप रहेका कारण १ अर्ब ५० करोड ९४ लाख ८८ हजार ८ सय २८ रुपैयाँको कारोबार भयो । बजारमा १ सय ४२ कम्पनीका २२ लाख ९ हजार ९ सय ३१ कित्ता सेयरको खरीदबिक्री भयो ।

सबैभन्दा बढी एभरेष्ट बैंकले ७ करोड २७ बढीको कारोबार गरेको छ । सानिमा बैंकले ७ करोड ११ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ६ करोड २ लाख, एनसीसी बैंकले ५ करोड ७५ लाख, लक्ष्मी बैंकले ५ करोड ४३ लाख, गुराँस लाइफ इन्स्योरेन्सले ४ करोड ४७ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ४२ लाख, युनाइटेड इन्स्योरेन्सले ४ करोड ३८ लाख बढीको कारोबार गरेका छन् । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सुचिमा ५ स्थान वाणिज्य बैंक र ५ स्थान बिमा कम्पनीले ओगटे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको सेयर मुल्य बढेको छ । यो कम्पनीको मुल्यमा १० प्रतिशत हाराहारीले वृद्धि देखिएको हो । लक्ष्मी बैंकले पनि साढे ६ प्रतिशतको हाराहारीमा कमाएको छ ।

राम्रो बैंक भनिए पनि मंगलबार एभरेष्ट बैंकको  सेयर मुल्यमा पहिरो गएको छ । यो बैंकको मुल्य १० प्रतिशतको हाराहारीमा घटेको हो । यस्तै, विजय लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा पनि १० प्रतिशतकै हाराहारीमा पहिरो गयो । ओमी माइक्रो फाइनान्सको सेयर मुल्य ९  प्रतिशतको हाराहारीमा घट्यो ।