काठमाण्डौ । युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा ‘राजनीतिक प्रतिशोध वा कनेक्सन छैन’ भन्ने प्रहरी मंगलबारदेखि भने अत्तालिएको छ । सुनियोजित रुपमा तिवारीको हत्यामा मनोज पुन नामको पात्र खडा गरेर प्रचारमा उत्रिएको प्रहरीका लागि स्थानीय पत्रकारहरुलाई आएको एउटा गतिलो म्यासेज र तिवारी हत्याकाण्डमा भारतीय कनेक्सनको तथ्यले निद हराम बनाइदिएको हो । 

युवासंघ रुपन्देहीका अध्यक्ष दुुर्गा तिवारीमाथि सोमबार दिउँसो रातो पल्सरमा आएका दुुई व्यक्तिले गोली प्रहार गरेका थिए । उनको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनामा भारतीय सार्प सुटरहरु प्रयोग भएका एक उच्च प्रहरी अधिकारीले सोमबार साँझ नै बिजशालालाई बताएका थिए । तर स्थानीय प्रहरीलाई भने ‘घटनालाई तोडमोड गर्न’ माथिबाट आदेश आएको र सोही अनुसार तिवारीसँग पुुरानो रिसइवी रहेका मनोज पुनलाई प्रयोग गरिएको स्रोतको दाबी छ । 

प्रहरीले तिवारी हत्याकाण्ड व्यक्तिगत रिसइवीको आधारमा भएको दाबी गरिरहँदा रुपन्देहीका पत्रकारहरुलाई मधेशी जनमुक्ति सेनाका संयोजक प्रताप सिंह भनिने व्यक्तिले ९८१२९०२७९१ नम्बरबाट धम्कीपूर्ण म्यासेज पठाएका छन् । यसले समेत घटनामा मधेशवादी दल र भारतीय कनेक्सनतर्फ संकेत गरेको छ । सो म्यासेजमा मधेशका लागि अन्तिम लडाई थालिएको भन्दै तिवारीको हत्या ट्रेलर मात्र भएको र पूरा फिल्म अझै बाँकी रहेको भन्दै अखण्डताको पक्षको आन्दोलनमा अगुवाई गर्नेहरुलाई टार्गेट बनाइनसक्ने धम्की दिइएको छ । सो धम्कीपूर्ण म्यासेजमा रुपन्देहीका उद्योगी, पत्रकारहरुलाई समेत नछाड्ने भनिएको छ । धम्कीपूूर्ण म्यासेज आफ्ना मोवाइल बक्समा आएपछि रुपन्देहीका पत्रकार तथा उद्योगीहरु आतकिंत भएका छन् । 

तिवारीको हत्याअघि बुटवलमा अखण्डताको पक्षमा भएको प्रदर्शनको अगुवाई गर्ने एक व्यवसायीमाथि पनि गोली प्रहार भएको थियो । सो घटना र तिवारीको हत्याकाण्डको कनेक्सन एउटै रहेको स्रोतहरुले दाबी गरेका छन् । 

स्रोतका अनुसार तिवारी हत्याको योजनामा भारतीय सार्प सुटरहरुको प्रयोग भएको पाइएको छ । ती सुटरहरुलाई ठूलै शक्तिले सुनियोजित रुपमा जिम्मेवारी दिएर नेपाल पठाएका स्रोत दाबी गर्छ । ‘अखण्डताको पक्षमा डटेर लागेका शक्ति र तिनका कार्यकर्ताहरुलाई तर्साउनलाई यो घटना घटाइएको हो ।’ स्रोतले भन्यो–‘संसदमा भारतको ठूलो इन्ट्रेस्ट रहेको संविधान संसोधनको प्रक्रिया अवरुद्ध छ, प्रमुख प्रतिपक्षीले संसदको अवरोध खुलाउन टेरिरहेको छैन, यसकारण नाङ्ग्लो ठटाएर हात्ती तर्साउन यो घटना गराइएको प्रष्टै देखिन्छ ।’

एक अर्को प्रहरी स्रोतका अनुसार घटनाको तथ्यलाई तोडमोड गर्न र तिवारी हत्यापछि बढेको आक्रोशको व्यवस्थापनका लागि सुनियोजित रुपमै केही नक्कली पात्र खडा गर्ने तयारी समेत भइरहेको छ । ती नक्कली पात्रहरुलाई घटनाका दोषी देखाएर यो घटनालाई व्यक्तिगत कारणसँग जबरजस्ती जोडेर सुनियोजित रुपमा भएको हत्याकाण्डलाई साम्य पार्न खोजिएको एमालेका नेताहरुको दाबी छ ।