काठमाण्डौ । लक्ष्मीको विशेष पूजा अर्चना गरिने तिहारअघि पूँजीबजार पनि लक्ष्मीका पूजकहरुलाई उत्साहित बनाउँदै बन्द भएको छ । 

दशैंपछि चाडपर्वको ह्यांगओभरका कारण अधिकांश कारोबार दिन घटेको बजार बुधबार झिनो अंकले बढेकोमा बिहीबार ६.२५ अंकले वृद्धि भई बन्द भएको हो । 

तिहारअघिको अन्तिम कारोबार दिन बिहीबार चार कम्पनीले लक्ष्मी(पैसा) भित्र्याएका छन् । कारोबार ७० करोडको हाराहारीमा भएको बजारमा वाणिज्य बैंक र विकास बैंकका लगानीकर्ताले लक्ष्मी भित्र्याए । 

वाणिज्य बैंक ८.४२ अंकले बढ्यो भने विकास बैंकमा १८.१७ अंकको बढोत्तरी देखियो । जलविद्युत समूह १५.७२ अंक र अन्य समूह १.७३ अंकले वृद्धि भयो । 

बिमा समूह ४१.२३ अंकले घट्यो । होटल समूह १५.५६ र बित्त समूह २.५७ अंकले घटे । 

बिहीबार वाणिज्य बैंकहरुले मात्र ३६ करोडको कारोबार गरे । बिमा १२ करोड ६० लाखमा ओर्लियो भने विकास बैंकको कारोबार बढेर १४ करोड माथि पुग्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार माछापुच्छे बैंकले मात्र १० करोड ३१ लाखको कारोबार गर्यो । मुक्तिनाथ विकास बैंकले ६ करोड ५६ लाख, कुमारी बैंकले ३ करोड ५७ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड २८ लाख, शिखर इन्स्योरेन्सले ३ करोड ४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ७० लाखको कारोबार गरे । मेगा बैंकको २ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड १३ लाख, एभरेष्ट बैंकको २ करोड र सानिमा बैंकको १ करोड ४४ लाख बराबरको सेयर किनबेच भयो ।

लक्ष्मी पाउने र गुमाउने कम्पनी
बिहीबार चार कम्पनीले पैसा छापेर तिहारअघि नै लक्ष्मीलाई भित्र्याए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र सिभिल बैंकले पैसा छापे । यी तीनवटा कम्पनीको सेयर मूल्य बिहीबार १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य पनि ९.४३ प्रतिशतले वृद्धि भयो ।
मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, लुम्बिनी फाइनान्ससँग लक्ष्मी दाहिना भइनन् । यी दुई कम्पनीले ४ प्रतिशतको हाराहारीमा मूल्य गुमाए । 

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमीटेड, देव विकास बैंक, एनएलजी इन्स्योरेन्सको लगानीकर्ताले पनि लक्ष्मी गुमाउनु पर्यो । यी तीनवटै कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।