काठमाण्डौ । डोनाल्ड ट्रम्प सरकारले अमेरिका जाने सपना सँगाल्नेहरुलाई झ्टका दिने गरी एकैपटक ६ विधेयक त्यहाँको सिनेटमा पेश गरेको छ । ती विधेयकहरुमा ‘एच वान बी’ भिजाका कारण अमेरिकीहरुको रोजगारी खोसिइएको तर्क गरिएको छ भने हरेक वर्ष नेपाल लगायत विभिन्न देशमा खुलाइने डिभी चिठ्ठा कार्यक्रम बन्द हुनुपर्ने जिकिर समेत पेश भएको छ । 

यस्तो विधेयक अमेरिकी सिनेट समक्ष डेमोक्रेसी र रिपब्लिकन पार्टीकै सदस्यहरुले पेश गरेका समाचारमा जनाइएको छ । उनीहरुले ‘एच वान बी’ भिजामा अमेरिका आउनेहरुले अमेरिकीहरुको रोजगारीको भाग खोसेका आरोप समेत लगाएका छन् । 

उनीहरुले ‘एच वान बी’ भिजा कार्यक्रम तत्काल बन्द हुनुपर्ने र यो भिजामा आएकाहरुले पाएको भिजा अनुमतिमाथि पनि पुनर्विचार हुनुपर्ने माग राखेका छन् । 

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको सपथ लिएको एकसाताभित्रै रिपब्लिकन पार्टीका सिनेटर चक ग्रेस्ले तथा सिनेटमा अल्पमत पक्षका सहायक नेता डिक डर्बिनले ‘एच वान बी भिजा सुधार बिधेयक’ पेश गरेका थिए । उनीहरुले सो विधेयकमा अमेरिकी कामदारहरुलाई रोजगारीमा प्राथमिकता दिइनुपर्ने कानून बन्नुपर्ने जिकिर गरेका थिए । ग्रेस्ले सिनेटमा रहेको न्यायपालिका समितिका प्रमुख हुन् । 

‘एच वान बी भिजा सुधार विधेयक’मा डिभी चिठ्ठाको व्यवस्था खारेज गर्न तथा अमेरिकामा शिक्षा हासिल गरेका आप्रबासीहरुलाई मात्र ग्रीनकार्डमा प्राथमिकता दिने प्रस्ताव समेत गरिएको छ । 

डेमोक्रेट सिनेटर लोफग्रेनले ‘द हाई स्किल्ड इन्टीग्रिटी एण्ड फेयरनेस एक्ट २०१७’ नामको विधेयक पेश गरेका छन् । यो विधेयकमा ‘एच वान बी’ भिजा पाउनेको न्यूनतम तलब १ लाख ३० हजार डलर राख्नुपर्ने प्रस्ताव गरिएको छ । केही अन्य सिनेटरहरुले समेत ‘एच वान बी’ भिजासँग सम्बद्ध अन्य विधेयक समेत पेश गरेका समाचारमा उल्लेख छ । 

अब पिएचडी होल्डर मात्र अमेरिका जान पाउने !
अमेरिकाका एक वरिष्ठ सिनेटरले ‘एच वान बी वर्किङ भिजा’ तथा रोजगारमा आधारित कयौं क्याटेगोरिज अक्सर आफ्नो उद्देश्य अनुकुल नहुुने बताएका छन् । उनले यो व्यवस्थाबाट पछिल्लो समय अमेरिकामा पिएचडी होल्डर तथा कम्प्युुटर वैज्ञानिक होइन कि केवल मध्यम स्तरका कामदार मात्र आइरहेका भन्दै असन्तुष्टि व्यक्त गरे । हालको व्यवस्थाले विश्वभरका क्षमतावान तथा सर्वश्रेष्ठ व्यक्तिलाई अमेरिका आउन प्रेरित नगर्ने सिनेटरहरुको तर्क छ । यहीकारण हालको एच वान बी भिजा तथा डिभी लोटरी कार्यक्रममाथि पुनर्विचारको प्रस्ताव गरिएको छ । समाचारहरुका अनुसार सिनेटरले भने झै डोनाल्ड ट्रम्प पनि एच वान बी भिजाको वर्तमान व्यवस्थामा कडाई गर्न र डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने बिषयमा सकारात्मक छन् ।