काठमाण्डौ । यदि तपाईको तलब प्रत्येक महिनाको पहिलो २० दिन(गते)भित्रै सकिन्छ भने यो तपाईको आर्थिक भविष्यका लागि राम्रो संकेत होइन । यस्तो अवस्थामा मानिसहरु कि त क्रेडिट कार्डको सहयोगबाट आफ्ना आवश्यकता पूरा गर्छन् वा अधिकांश नेपालीहरुले साथीभाईसँग सरसापट गरेर खर्चको जोहो गर्छन् । यस्तो प्रवृतिका कारण भविष्यका लागि बचत हुन पाउँदैन । आज हामी तपाईलाई केही विज्ञ तथा एजेन्सीहरुको सहयोगमा यस्तै ५ कामको बिषयमा बताउन गइरहेका छौ, जसको सहयोगले तपाई संकटको स्थितिबाट बच्न सक्नुुहुन्छ र भविष्यका लागि बचत पनि गर्न सक्नुुहुन्छ । 

१.खर्चमा कटौति गर्ने
सबैभन्दा पहिला तपाईले आफ्नो खर्चमाथि ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा घट्नसक्ने शीर्षकका खर्चहरुलाई केही निर्मम भएर कटौति गरिदिनुुपर्छ । खर्चको कटौतिबाट तपाईलाई केही असहजता वा अप्ठ्यारो त होला, तर यसले महिना पूरा हुुनुुअघि नै तपाईको तलब सकिने र आर्थिक संकटमा फस्ने समस्याबाट मुक्ति मिल्छ । यसकारण, सकेसम्म खर्च कटौति गर्नु अत्यावश्यक हुन्छ । 

२.बजेट बनाउने
तपाईले आफूले पाएको तलब खर्च गर्नुअघि हरेक महिनाको सुरुवातमै आफ्नो बजेट बनाउनुपर्ने हुन्छ । आफ्नो बजेटलाई तपाईले जरुरी खर्च, बचत तथा मनोरञ्जन जस्ता तीन वर्गमा विभाजित गरेर बाँडफाँड गर्न सक्नुुहुन्छ । यसबाट तपाईले आफ्नो तलब के केमा खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउनुुहुनेछ । विज्ञहरुका अनुसार आफ्नो तलबको ५० प्रतिशत अत्यावश्यक खर्चको रुपमा जोहो गर्नुपर्छ भने ३० प्रतिशत हिस्सा बचतमा र बाँकी २० प्रतिशत मनोरञ्जन तथा घुमफिरका लागि छुट्याउनुपर्छ । 

३. आफ्ना इच्छामा नियन्त्रण गर्ने
तपाईले आफ्नो आवश्यकतालाई पूरा गर्नुपर्छ भने चाहना वा इच्छाहरुमाथि जबरजस्त नियन्त्रण गर्न सक्नुुपर्छ । यदि तपाई आफ्नो इच्छा पूरा गर्ने दिशातर्फ मात्र उन्मुुख हुनुुभयो भने आर्थिक रुपमा सधैं संकटमा फस्नुुहुनेछ । अधिकांश मानिस आफ्ना इच्छा र रहर पूरा गर्नका लागि आफ्नो आम्दानीको क्षमता भन्दा अधिक ऋण लिन्छन् र जीवनभरि समस्यामा फस्छन् । यो प्रवृतिले आर्थिक भविष्य डामाडोल बनाइदिन्छ । 

४.आपतकालीन कोष बनाउने
हरेक व्यक्तिले आफ्नो जीवनमा संकट वा खराब समयको सामना गर्नुपर्ने हुन्छ । यसकारण तपाईले भविष्यमा आउनसक्ने संकटको सामनाको तयारी बेलैदेखि गर्नुपर्ने हुन्छ । यस्तो संकट आफ्नो जीवनमा जुनसुकै बेला आउनसक्छ वा जुनसुकै बेला जागिर जानसक्छ भन्ने ठानेर बेलैदेखि तयारी थाल्नुपर्छ । परिवारमा कोही गम्भीर बिरामी पर्न सक्छ वा आकस्मिक घटना पनि हुनसक्छ । यसका लागि तपाईले एक आपतकालीन कोष बनाउनुपर्ने हुन्छ । तपाईले ६ महिनादेखि १ वर्षसम्मको खर्च धानिने गरी सोही आकारको आपतकालीन कोष बनाउनुपर्ने हुन्छ । यसबाट तपाईलाई जस्तोसुकै संकटको सामना गर्न पनि सहज हुनेछ । 

५.लामो समयका लागि लगानी गर्ने
पैसाको दृष्टिकोणबाट आफ्नो भविष्य सुनिश्चित गर्नका लागि तपाईले प्रत्येक महिना लामो अवधिको लगानीमा केही रकम छुट्याउनुपर्ने हुन्छ । यसका लागि तपाईले राम्रो कम्पनीको सेयर, म्युुचुुअल फण्ड वा यस्तै स्किमहरुमा समेत लगानी गर्न सक्नुुहुन्छ ।