काठमाण्डौ । नेपालका युवाहरुमा बढीभन्दा बढी व्यवसायिक भावना पैदा गर्ने उद्देश्यले सरकारले युवा स्वरोजगार कोषदेखि लिएर उद्यम गर्नेहरुलाई सहुलियत दरमा कर्जा लगायतका स्कीमहरु बेला–बेलामा ल्याउने गरेको छ । यस्ता विभिन्न योजनाहरुले सानोतिनो व्यापार गर्ने थुप्रै मौकाहरु जुराइदिने गर्छ, तर धेरैले यो मौकालाई सदुपयोग गर्दैनन् । विदेशमा मजदूरी गर्नमै मक्ख पर्ने धेरै नेपाली युवाहरुले देशभित्रै सानोतिनो लगानीको व्यवसाय सुरु गर्ने प्रशस्त संभावनाहरु छन् । हामी आज यस्तै केही व्यवसायको बिषयमा कुरा गरिरहेका छौ, जहाँ तपाईंले २ देखि ४ लाखसम्म लगानी गर्नुपर्छ । भनेजस्तो व्यापार भए मासिक २५ हजारदेखि ९० हजार रुपैयाँसम्म कमाई हुन्छ ।

रेडिमेड गार्मेन्टको व्यापार
करिब ३ रुपैयाँसम्ममा यो व्यवसाय सुरु गर्न सकिन्छ । हिजोआज रेडिमेड गार्मेन्टको विजिनेशमा निकै ठूलो स्कोप छ । यदि तपाईसँग १ लाख रुपैयाँ मात्र छ भने बाँकी पैसा सरकारले प्रदान गर्ने सहुलियत दरबाट ऋण लिएर यो व्यापार संचालन गर्न सक्नुहुन्छ । करिब ३ लाख जति भयो भने यसबाट तपाईले ६ वटा मेसिन, छ वटा मोटर र त्यति नै संख्यामा ओभरलक मेसिन खरीद गर्न सक्नुहुन्छ । यस बाहेक वर्र्किङ टेबल, कटिङ टेबल, फाइबर स्टूल, स्टील आलमारी, स्टील र्याक, आइरन बक्स लगायतका सामान खरीद गर्दा तपाईको करिब १ लाख रुपैयाँ खर्च हुन्छ । यो विजिनेश पूरा ढंगले संचालन भएपछि तपाईंलाई वार्षिक करिब ९ लाख रुपैयाँसम्म नाफा हुन्छ । यो हिसाबले तपाईंको मासिक करिब ८८ हजारसम्म कमाई हुन्छ ।

बेकरीको व्यापार

तपाईं करिब डेढ लाखको लागतमै बेकरीको विजिनेश सुरु गर्न सक्नुहुन्छ । थप लगानीका लागि केही लाख रुपैयाँ सरकारको सहुलियत दरको स्कीमबाट ऋण लिन सक्नुहुन्छ । युवा व्यवसायीहरुलाई सहुलियत दरमा ऋण लिएर व्यवसायिकता बढाउने सरकारको नीति नै छ । यो लगानीबाट देशको कुनै पनि सहरमा तपाईंले बेकरी आइटम उत्पादन गर्ने उद्योग संचालन गर्न सक्नुहुन्छ । यो व्यवसायमा तपाईंले सबै खर्च कटाएर वार्षिक करिब ६ लाख रुपैयाँ नाफा कमाउन सक्नुहुन्छ, यो हिसाबले तपाईको मासिक कमाई ५० हजाार रुपैयाँ हुन आउँछ ।

मेटल वर्क(वाइल्डिङ)को विजिनेश

तपाईंले आफूसँग भएको सानो रकम र सरकारबाट सहुलियत दरको ऋण लिएर करिब ३ लाख रुपैयाँको लागतमा जनरल इञ्जिनियरिङ वर्कसपको साथमा वाइल्डिङ र मेटल वर्कको व्यापार सुरु गर्न सक्नुहुन्छ । जानकारहरुका अनुसार यो कामबाट वार्षिक न्यूनतम ३ लाख २० हजार भन्दा बढी कमाई हुन्छ । यो हिसाबले तपाईंले देशमै बसेर आरामले मासिक २६ हजार रुपैयाँ नाफा कमाउन सक्नुहुन्छ ।

ब्यूटिपार्लरको विजिनेश

यदि तपार्इं महिला हुनुहुन्छ भने ब्यूटिपार्लरमा राम्रो संभावना छ । करिब ३ लाख रुपैयाँ लगानीमा तपाईं आरामसाथ यो व्यापार सुरु गर्न सक्नुहुन्छ । हुन त पछिल्लो समय केही पुरुषहरुले समेत यो व्यवसाय सुरु गरेका छन् । हेण्डसम पार्लरको नाममा सुरु यो व्यवसायमा निकै ठूलो संभावना छ । यो व्यवसाय राम्रो ढंगले संचालन गर्न सक्नुभयो भने तपाईंको वार्षिक कमाई न्यूनतमा ५ लाख हुने अध्ययनहरुले देखाएका छन् । यो हिसाबले तपाईंको मासिक कमाई करिब ४२ हजार रुपैयाँ हुन आउँछ ।

सेनेटरी न्यापकिनको विजिनेश

करिब २ लाख रुपैयाँकै लागतमा तपाईंले सेनेटरी न्यापकिनको विजिनेश सुरु गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार यदि तपाईं दैनिक १४४० सेनेटरी न्यापकिन तयार गर्नुहुन्छ र एक प्याकेटमा ८ वटा न्यापकिन राख्नुहुन्छ भने तपाईं एकवर्षमा ५४ हजार प्याकेट तयार गर्न सक्नुहुन्छ । यदि तपाईं एक प्याकेटको मूल्य ३० रुपैयाँ राख्नुहुन्छ भने तपाईंले एकवर्षभरिमा १६ लाख २० हजार रुपैयाँ बराबरको सेनेटरी न्यापकिन बिक्री गर्न सक्नुहुन्छ । यति बिक्रीमा सबै खर्च कटाएर तपाईंलाई न्यूनतम पनि ७ लाख रुपैयाँ नाफा हुन्छ । यो हिसाबले तपाईंको मासिक कमाई करिब ६० हजार रुपैयाँ हुन आउँछ ।