काठमाण्डौ । दीपावली तथा छैठ पर्वको समयमा सानो विजिनेशबाट समेत तपाईंले लाखौं कमाउन सक्नुहुन्छ । तिहारमा सानो–सानो कारोबारबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । यो बेला कयौं प्रकारका वस्तुहरुको कारोबार गर्न सकिन्छ । 

यो समयमा आतीसबाजी, फूल, मसला, लत्ताकपडा, मिठाई, गिफ्ट प्याक, ड्राइ फ्रूट प्याक, झिलीमिली बत्ती, मैनबत्ती, दीयो, मूर्ति तथा भगवानका फोटोहरु, सजावटका सामान जस्ता प्रोडक्टहरुको अधिक माग हुन्छ । ५ हजारदेखि डेढ लाख रुपैयाँसम्मको लगानीबाट यी वस्तुहरुको व्यापार सुरु गर्न सकिन्छ । व्यापारीका अनुसार यस्ता वस्तुहरुको कारोबारबाट १५ देखि ५० प्रतिशतसम्म नाफा हुन्छ । आउनुहोस्, हेरौं दीपावली र छैठ पर्वको समयमा कुन–कुन वस्तुको व्यापार गरे मनग्गे नाफा होला  :

१.आतीसबाजी 
तिहार र छैठको अवसरमा पटाका तथा आतीसबाजीहरुको निकै ठूलो व्यापार हुने गरेको छ । नेपालमा पटाका प्रतिबन्धित छ । तर चोर बाटोबाट भारतबाट यस्ता सामाग्री ल्याएर बिक्री गर्ने गरिन्छ । पटाका बाहेक तपाईले बैधानिक रुपमा विभिन्न खालका आतीसबाजीहरुको व्यापार समेत गर्न सक्नुहुन्छ । तपाईले आतीसबाजीहरु भारतीय तथा चाइनिज बजारबाट समेत खरीद गर्न सक्नुहुन्छ ।

भारतको दिल्लीस्थित सदर बजार, जामा मस्जिद, तमिलनाडूको शिवकाशी तथा सीमावर्ती भारतीय बजारबाट समेत आतीसबाजीहरु खरीद गर्न सकिन्छ । चिनको आतीसबाजीबाट ५० प्रतिशतसम्म फाइदा हुने व्यापारी बताउँछन । भारतीय आतीसबाजीबाट चाहि अधिकतम ३५ प्रतिशतसम्म नाफा कमाउन सकिन्छ । आतीसबाजीको कारोबारका लागि तपाईसँग अधिकतम ५० हजार रुपैयाँ भए काफी हुन्छ । 

२.सजावटका लाइटको व्यापार
दीपावलीको समयमा चाइनिज लाइट(झिलीमिली बत्ती)को कारोबार सबैभन्दा बढी हुन्छ । इलेक्ट्रोनिक्स पसलदेखि सडकमा समेत यस्ता लाइटहरु बिक्री भइरहेका हुन्छन् । फेस्टिभ सिजनमा सजावटको बत्तीको व्यवसाय सुरु गर्दा बढीमा ३० हजार भए काफी हुन्छ । चाइनिज लाइटको खरिदारी आफू नजिकका थोक बिक्री केन्द्र वा सीमावर्ती बजारमै पुगेर पनि गर्न सकिन्छ । यस्ता बत्तीबाट तपाईले ३० प्रतिशतभन्दा बढी नाफा कमाउन सक्नुहुन्छ । काठमाण्डौका एक व्यापारीका अनुसार गत वर्ष १ लाख रुपैयाँको यस्ता बत्ती बेच्दा उनलाई ५० हजार चोखो नाफा भएको थियो । 

३.मिठाई, चकलेट र गिफ्ट प्याक
दिपावलीको समयमा मिठाई, चक्लेट, फ्रूटी, सफ्ट ड्रिङ्कको प्याक(डब्बा) सबैभन्दा बढी बिक्री हुन्छ । दिपावलीको एकसाताअघिदेखि नै धेरै दोकानेहरुले आफ्नो पसलअगाडि यस्ता गिफ्ट आइटम राखेर व्यापार सुरु गर्छन । कतिपय कर्पोेरेट कम्पनीहरुले समेत फेस्टिभ सिजनमा आफ्ना कर्मचारीका लागि यस्ता गिफ्टहरु खरीद गरिरहेका हुन्छन । यसकारण विभिन्न प्रोडक्टहरुले समेत यस्ता गिफ्ट प्याक ल्याएका हुन्छन् । यस्ता वस्तुको कारोबा गरी तपाईले राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्तो व्यापारबाट ३० प्रतिशत भन्दा बढी फाइदा हुने कारोबारीहरु बताउँछन् । यस्ता गिफ्ट प्याकहरु बजारका थोक बिक्रेताबाट समेत खरीद गर्न सकिन्छ । फेस्टिभ सिजनमा चकलेट, मिठाई, नमकिनको शानदार डब्बा बिक्री गर्ने एक व्यापारीका अनुसार ३ सय रुपैयाँ पर्ने यस्तो प्याक बिक्री गर्दा १ सय रुपैयाँ नाफा हुन्छ । 

४.मूर्ति, दीयो, रंगीचंगी मैनबत्ती र सजावटका सामान
दीपावलीको समय लक्ष्मी, गणेशको मूर्ति, रंगीचंगी मैनबत्ती, लक्ष्मीको दुई खुट्टा(पाउ), झल्लर, रंगोली, सजावटको दीयो तथा माटोको दीयो र सामान्य मैनबत्तीको औधी व्यापार हुन्छ । दिपावलीको समयमा व्यापारीहरुले यी वस्तुहरु महंगो मूल्यमा बिक्री गर्छन र कुस्त कमाउँछन । तिहारको समयमा यी वस्तु बिक्री गरेर ४० प्रतिशतसम्म नाफा कमाउन सकिन्छ । यस्ता सजावटका सामानमध्ये अधिकांश भारतीय सीमा बजारबाट खरीद गर्ने गरिन्छ । तर नेपालमै पनि कयौं प्रोडक्टहरु छन्, तिनीहरुलाई खरीद गरे देशको अर्थतन्त्रलाई पनि फाइदा पुग्छ । 

५.सयपत्री माला, टोपी, रुमाल, लत्ताकपडा
तिहारमा सबैभन्दा बढी कारोबार सयपत्री र मखमली फूलको मालाको हुन्छ । भारतका विभिन्न बजारबाट माला ल्याएर नेपालमा करोडौं रुपैयाँको व्यापार हुन्छ यो समयमा । सामान्य व्यापारीले समेत मालाको कारोबार गर्न सक्छन् । सयपत्रीको मालाको व्यापार गर्न ५० हजार रुपैयाँ पूँजी भए पुग्छ । यस्तो व्यापारबाट तपाईंलाई ५० प्रतिशत भन्दा बढी नाफा हुने व्यापारी बताउँछन । 

पछिल्लो समय तराई भेगमा कृत्रिम प्लाष्टिक तथा कागजका मालाको व्यापार समेत उस्तै फस्टाएको छ । फूलको अभावमा यस्ता माला ग्राहकको रोजाईमा पर्ने गर्छ । यस्ता मालाको समेत तपाई व्यापार गरेर राम्रो कमाई गर्न सक्नुहुन्छ । 

तिहारमा चेलीबेटीले आफ्ना माइतीलाई ढाका टोपी, रुमाल, तौलिया, अन्य लत्ताकपडा(टिसर्ट लगायत) उपहार दिने चलन छ । यस्ता आइटमको समेत व्यापार गरेर राम्रो कमाई गर्न सक्नुहुन्छ । 

६.नरीवल, केरा, दूधको कारोबार
छैठमा नरीवलको नफोडिएको दाना, केराको घरीको औधी कारोबार हुन्छ । तपाईले यी आइटमको व्यापार गर्न सक्नहुन्छ । दशैं तथा तिहारमा दूध, दहीको कारोबार पनि औधी हुन्छ, यस्ता व्यापारमा पनि लगानी गर्न सकिन्छ । यस्ता वस्तुहरुको व्यापार गर्न बढीमा ५० हजार पूँजी भए पुग्छ । नरीवल, केरा लगायतको व्यापारमा ५० प्रतिशतसम्म नाफा हुने व्यापारी बताउँछन । 

७.माटोका सामाग्री र फलफूल
तिहार तथा छैठमा माटोबाट बनेका सामाग्री र फलफूलको समेत औधी बिक्री हुन्छ । माटोको दीयो, घैला तथा अन्य पूजा सामाग्रीको औधी व्यापार हुन्छ । यस्तै, फलफूलको पनि ठूलो व्यापार हुन्छ । यस्ता व्यापारमा लगानी गरेर तपाईले राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यसका लागि बढीमा ३० हजार रुपैयाँ पूँजी भए काफी हुन्छ । यस्ता वस्तुको व्यापारबाट ३० प्रतिशतभन्दा बढी नाफा हुन्छ । 

८.तिहार मसला
तिहारमा नेपालका बजारहरुमा तिहार मसला निकै धेरै बिक्री हुन्छ । बनिबनाउ तिहार मसलादेखि लिएर छुट्टाछुट्टै मसलाको पनि उस्तै बिक्री हुन्छ । ओखरको पनि राम्रो व्यापार हुन्छ । नरीवल, सुपाडीको व्यापार पनि उस्तै हुन्छ । यो बेला किराना आइटमको व्यापार पनि उस्तै हुन्छ । यस्ता व्यापारमा समेत लगानी गरेर तपाईले राम्रो आम्दानी लिन सक्नुहुन्छ ।