काठमाण्डौ । दुई इन्स्योरेन्स कम्पनी र एक फाइनान्सले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिने भएका छन् भने अर्को एक माइक्रो फाइनान्सले पूँजी वृद्धिको योजनाले हकप्रद जारी गर्ने भएको छ । 

प्रूडेन्सियल र हिमालय इन्स्योरेन्स तथा सगरमाथा फाइनान्सले बोनश शेयर वितरण गर्ने भएका हुन् भने नमस्ते बित्तीय संस्थाले ३ करोड ७५ लाख मूल्यको हकप्रद जारी गर्न लागेको हो । 

प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने भएको छ । चैत १२ गते कम्पनीको बोर्डबाट भएको बोनस शेयर दिने सो निर्णय बीमा समितिबाट पारित भएको छ । कम्पनीको साधारणसभाले समेत यो प्रस्ताव पारित गरेपछि शेयरधनीले बोनस पाउनेछन् । सोमबार नेप्सेमा प्रकाशित भएको सूचना अनुसार कम्पनीको १४औं वार्षिक साधारणसभा आगामी असार २ गते हुनेछ । 

उता, सगरमाथा फाइनान्सको बोर्ड बैठकले आफ्नो शेयरधनीलाई १५ दशमलब ८५ प्रतिशत बोनस सेयर दिन भनेर गरेको निर्णय राष्टबैंकले स्वीकृत गरिदिएको छ । राष्ट्र बैंकबाट स्वीकृत सो निर्णय अब कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले बोनस शेयर पाउनेछन् । यो फाइनान्सको चुक्ता पूँजी ३१ करोड ८७ लाख ७३ हजार रुपैयाँ रहेको छ । 
यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सले पनि आफ्ना शेयरधनीलाई चूँक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बोर्डबाट भएको यो निर्णय बिमा समितिबाट पास भइसकेको र आगामी असार १४ गते हुने साधारणसभाबाट समेत यो प्रस्ताव पारित भएपछि घोषित बोनस शेयर र नगद लाभांश वितरण गरिने कम्पनीका अधिकारीहरुले बताएका छन् । 

उता, नमस्ते वित्तीय संस्था लिमिटेडले ३ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर एक अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो । पुँजीवृद्धिका लागि हकप्रद दिने भनेर गरिएको निर्णय आगामी जेठ २९ गते हुने विशेष साधारणसभाबाट पारित गराउने कम्पनीको रणनीति छ । दाङ जिल्लाको घोराहीमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाको सेयर पुँजी हाल ३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सवा करोड रुपैयाँको हाराहारीमा सञ्चित कोष छ । ३५ करोड निक्षेप रहेको यो संस्थाले २२ करोड कर्जा प्रवाह गरेको छ । फाइनान्सको सेयर पछिल्लो समय प्रतिकित्ता ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।