काठमाण्डौ । पछिल्लो समय माइक्रो फाइनान्सको मूल्य निकै माथि उचालिएको छ । वाणिज्य बैंक र अन्य ठूला संस्थाको तुलनामा सानो पूँजी भएका माइक्रो फाइनान्सले कुस्त कमाएका छन् र यसकै कारण प्रति कित्ता सेयर मूल्य पनि उचालिएको छ । 

यही क्रममा दुई माइक्रो फाइनान्स कम्पनीलाई धितोपत्र बोर्डले क्रमशः ५० र १२० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । 

यो अनुमतिसँगै ४ हजार भन्दा बढी प्रति कित्ता सेयरको मूल्य पुगेको यी दुई कम्पनीको सेयर लगानीकर्ताले प्रति कित्ता १ सय रुपैयाँको दरले नै पाउनेछन् । ४ हजार बढीको सेयर १ सय रुपैयाँमा पाउने भएपछि लगानीकर्ता समेत मक्ख पर्ने निश्चित छ । 

नागबेली लघुवित्त विकास बैंक र एनएमबी माइक्रो फाइनान्सले कुल ६ करोड ७७ लाख मूल्य बराबरको हकप्रद निश्कासन गर्ने निश्चित भएको हो ।

नेपाल धितोपत्र बोर्डले नागबेली लघुवित्त विकास बैंक लिमीटेडलाई ५० प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ । 

एनएमबी क्यापिटल लिमीटेड नागबेलीको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

२०७२ फागुन २१ गते सम्पन्न छैठौं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । धितोपत्र बोर्डबाट समेत अन्तिम स्वीकृति प्राप्त भएपछि अब नागबेलीले कुल १ लाख २५ हजार कित्ता सेयर हकप्रदको रुपमा निश्कासन गर्नेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ३ करोड २३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी २.५ करोड  रुपैयाँ मात्र छ । ५० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ३ करोड ७५ लाख पुग्नेछ । 

सेप्टेम्बर २८ मा यो कम्पनीको सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ४ हजार ४ सय ११ रुपैयाँ रहेको छ । 

यसैगरी, बोर्डले एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडलाई पनि १ बराबर १.२ अर्थात १२० प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति दिएको छ । 

यो कम्पनीको हकप्रद निश्कासन तथा व्यवस्थापनमा लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

एनएमबी माइक्रो फाइनान्सको २०७३ बैशाख २५ गते सम्पन्न विशेष साधारणसभाले १२० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । बोर्डबाट स्वीकृति पाएपछि अब यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५२ हजार कित्ता सेयर हकप्रदको रुपमा निश्कासन गर्नेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को अवधिमा २ करोड ९८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यसको चुक्तापूँजी ७ करोड ४१ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी १६ करोड ३० लाख रुपैयाँ पुग्नेछ । 

यो कम्पनीको पनि सेप्टेम्बर २८ को मितिमा सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ४ हजार १ सय ७० रुपैयाँ रहेको छ ।