काठमाण्डौ । भारत र चीनका लागि नवनियुक्त नेपाली राजदूतद्वय क्रमशः दीपकुमार उपाध्याय र लिलामणि पौडेल तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा मुलुकको समग्र विकासका लागि आर्थिक कुटनीतिलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिइएको छ । 

नवनियुक्त राजदूतद्वयलाई नेपाल चेम्वर अफ कमर्समा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले छिमेकी देशहरुमा निर्यात बढाउन र लगानी भित्र्याउन आर्थिक कुटनीतिको प्रभावकारी भूमिका रहने हुदाँ निजी क्षेत्रले नवनियुक्त राजदूतहरुबाट ठूलो अपेक्षा गरेको बताए ।

उनले भारत र चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै भारतसंग सम्पन्न सन्धी सम्झौता कार्यान्वयन गर्न राजदूत दीपकुमार उपाध्यायको ध्यानाकर्षण गराए । 

उनले भारततर्फको निकासी अभिवृद्धि गर्न कोलकाता बन्दरगाहाबाट प्रवाह गरिने सेवा सुविधालाई चुस्तदुरुस्त र प्रभावकारी बनाईनुपर्नेमा जोड दिए । 

श्रेष्ठले कोलकातामा कन्टेनर रोकिँदा बस्तुको लागत वृद्धि हुन गएको तर्फ ध्यानाकृष्ठ गराउंदै विशाखापटनम बन्दरगाहलाई प्रभावकारी बनाउन राजदूत उपाध्यायलाई आग्रह गरे । 

यस्तै,  श्रेष्ठले चीनले प्रदान गर्दै आएको भन्सार सुविधाको अधिकतम सदुपयोग गर्न तथा चिनिया पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न, तातोपानी नाका शीघ्र संचालनमा ल्याउन, रसुवागढी र स्याफ्रुवेशी सडक निर्माणमा राजदूत लिलामणि पौडेलको ध्यानाकर्षण गराए ।

राजदूतहरुले मुलुकको आर्थिक सम्वृद्धिका लागि आफूले दुई देशबीच पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

भारतका लागि नेपालका राजदूत उपाध्यायले नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले अपेक्षित सफलता हासिल गरिरहेका दृष्टान्त दिदैं नेपाल लगानीको लागि उपयुक्त स्थान रहेको बताए । उनले नेपाली उत्पादन र नेपालका अवसरबारे प्रचार प्रसार गर्न भारतस्थित नेपाली राजदूतावासको अधिकतम सदुपयोग गर्न अनुरोध समेत गरे । 

त्यसैगरी, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले चीनमा नेपाली उत्पादनहरुको माग राम्रो रहेको जानकारी गराउंदै नेपाली उत्पादनहरुले विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्नु पर्ने बताए । उनले चीनले हासिल गरेको आर्थिक सफलताबाट नेपालले समेत फाईदा लिनुपर्ने बताउँदै यसका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।