काठमाण्डौ । महङ्गो मूल्य प्रिमियम राखेर एफपीओ जारी गर्ने दाउ हेरेर बसेका २ बिमा कम्पनीको सपनामाथि घट्दो बजारले तुषारापात गरिदिएको छ । 

प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको महंगो मूल्यमा एफपीओ निश्कासनको योजना तुहिएको हो । यी २ कम्पनीमध्ये प्रिमियरको प्रक्रिया निकै अगाडि बढिसकेको छ भने शिखरले एफपीओ निश्कासनको स्पष्ट प्रावधान नभएको फाइदा उठाउँदै एक बर्षपछि नै दोश्रो पटक महंगो दरमा निश्कासन गर्न खोजेको छ । यहीकारण, यसको प्रक्रिया अहिले अगाडि बढिसकेको छैन । 

प्रिमियर इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यमा ९०४ रुपैयाँ प्रिमियम तोकी प्रतिकित्ता १ हजार ४ रुपैयाँमा एफपीओ निश्कासन गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पठाएको छ । यो कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ जारी गर्ने भन्दै आवेदन दिएको हो । यो कम्पनीको एफपीओ धितोपत्र बोर्डको पाइपलाइनमा छ । बजार निरन्तर घटेर आइतबार प्रिमियर इन्स्योरेन्सको मूल्य ९६० मा सीमित बनेको छ । समग्र  बिमाको सूचक तल झरिरहेकोले यो अंक अझै तल झर्ने प्रवल संभावना छ । बजार मूल्य नै ९ सयतर्फ अगाडि बढिरहेको यो इन्स्योरेन्सले एफपीओ १ हजार ४ रुपैयाँमा जारी गर्न पाउने संभावना सकिएको छ । 

उता, एक वर्षको अवधिमा दोश्रो पटक नै महंगो मूल्यमा एफपीओ निश्कासनको निर्णय संचालक समितिबाट गराउँदै बोर्डमा आवेदन दिएको शिखर इन्स्योरेन्सको सर्वसाधारणबाट करोडौं रुपैयाँ सोहर्ने योजना समेत सफल नहुने अवस्था आएको छ । यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १५२० रुपैयाँ प्रिमियम थपेर कुल १६२० रुपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव बोर्डमा पठाएको थियो । 

बोर्डले एकवर्षको अन्तरालमै एउटा कम्पनीले दुुईपटकसम्म एफपीओ गर्न पाउने हो या होइन भन्ने अन्यौलका कारण शिखरको प्रस्तावलाई पाइपलाइनमा समेत राखेको छैन । आइतबारको कारोबार अनुसार शिखर इन्स्योरेन्सको बजारमूल्य १५३० को स्तरमा आइसकेको छ । आगामी दिनमा यो मूल्य समेत अझ घट्नसक्ने देखिन्छ । यसकारण शिखरको सपना पनि तुहिएको छ । 

स्ट्याण्डर्ड चार्टर्डलाई यही साताभित्र स्वीकृति
यसैबीच, धितोपत्र बोर्डस्थित उच्च स्रोतका अनुसार प्रतिकित्ता प्रिमियम मूल्यसमेत जोडी १२९० रुपैयाँमा एफपीओ निश्कासनको प्रस्ताव पेश गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले एकदुुई दिनमै स्वीकृति पाउँदैछ । तर, यो बैंकले प्रस्ताव गरेको १२९० मै स्वीकृति दिने वा घट्दो बजारका कारण बदलिएको नयाँ परिस्थिति अनुसार नयाँ मूल्य तोक्ने भन्ने बिषयमा बोर्डका अधिकारी नै अन्यौलमा छन् । यो बैंकले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासनको माग गरेको छ । माघ ११ गते निवेदन दिएको यो बैंकको आइतबारको अन्तिम बजार मूल्य प्रतिकित्ता १८ सयमा आइसकेको छ । यो बैंकले एफपीओको आवेदन दिएको दिन माघ ११ गते प्रतिकित्ता सेयर कारोबार मूल्य २१४० रुपैयाँ थियो । 

घट्दो बजारका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ निकै प्रभावित हुने देखिन्छ । यो बैंकमाथि त्यसै पनि नेपाली पैसा कुम्ल्याएर करोडौं रुपैयाँ विदेश लैजानका लागि एफपीओको बाटो रोजेको आरोप लागिरहेको छ । त्यसमाथि तोकिएको मूल्य नै धरापमा पर्नसक्ने संभावना हुँदा हुँदै त्यसमा एफपीओ खरीद गर्ने जाँगर लगानीकर्तामा आउला भन्न गाह्रो छ । लगानीकर्ताले समेत यो बिषयमा गम्भीर बन्नुुपर्ने आवश्यकता देखिन्छ । 

के भन्छन् बोर्डका अधिकारी ? 
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले एफपीओको मूल्य तथा निश्कासनको मापदण्ड स्पष्ट तोकिएकोले सोही अनुसार कम्पनीहरुले पहिला तोकेको मूल्यमा संसोधन पनि गर्नुपर्ने हुनसक्ने बताए । 

बोर्डले बनाएको कार्यविधिमा एफपीओ जारी गर्न आवेदन दिंदा विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । जसअनुसार पूँजीकृत भएको आम्दानी, प्रति शेयर खुद सम्पत्तिको मूल्य, १८० दिनको औसत बजार मूल्य, भविष्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गर्नुपर्नेछ । बोर्डकाअनुसार तोकिएका चार आधारहरुबाट उपलब्ध भएको मूल्यको सामान्य औसत गणना गरी निर्धारण गर्नुपर्नेछ । यी मापदण्ड मान्ने क्रममा समेत अहिलेको न्यून मूल्यको बिषय पनि समेटिने र एफपीओको निवेदन दिएकाहरुले यो बिषय समेत समेटेर नयाँ ढंगले विश्लेषण गर्नुपर्ने अनिवार्यतामा गिरीको जोड छ ।

तर, बोर्डले तोकिदिएको कार्यविधिमा १८० दिनको औसत बजार मूल्य भन्ने बुँदालाई भने कम्पनीहरुले अपव्याख्या गर्नसक्ने संभावना देखिन्छ । कारण, कुन मितिदेखि १८० दिनको औसत बजार मूल्य भनिएको हो भन्ने कार्यविधिमा प्रष्ट छैन । 

परेको एफपीओ निल्नु न ओकल्नुु !
यसैबीच, प्रिमियमसहित प्रति कित्ता १ हजार ४ सय २५ रुपैयाँमा पुस २७ गतेदेखि माघ २ गतेसम्म एफपीओमा आवेदन खुुलाएको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ भरेका लगानीकर्ता निल्नुु न ओकल्नुको अवस्थामा छन् । सामाजिक सञ्जालमा लगानीकर्ताले भन्न थालेका छन् –‘घट्दो बजारमा मलाई एफपीओ नपरे पनि हुन्थ्यो ।’ कारण, नेपाल लाइफले एफपीओमा निवेदन खुलाएको दिन यसको मूल्य प्रतिकित्ता २६०९ रुपैयाँ थियो । यो मूल्य आइतबार २०९० रुपैयाँमा सीमित बन्न पुुगेको छ । गिरावट यही ढंगले कायम रहे प्रति कित्ता १४२५  हालेर किनेको एफपीओको कुनै अर्थ नहुने लगानीकर्ताहरुको भनाई छ । 

यसैबीच, प्रतिकित्ता प्रिमियम समेत जोडी ९७१ रुपैयाँमा एफपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको एसबीआई बैंकको मूल्य पनि निकै कम भइसकेको छ । यो बैंकको आइतबारको बिक्री मूल्य प्रति कित्ता ९८० कायम भएको छ । यो मूल्य समेत अझै तल झर्दै जाँदा एफपीओमा मरिहत्ते गरी लगानी गरेकाहरुले पुर्पुरोमा हात लगाउनुपर्ने अवस्था सिर्जना हुने निश्चित छ ।