काठमाण्डौ । मुलुक निर्वाचनतर्फ उन्मुख हुँदै छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ भने निर्वाचन आयोगले समेत निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। स्थानीय निर्वाचन मात्र होइन एक वर्षभित्र अर्को दुईवटा संघीय र प्रान्तीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार मुलुक अघि बढिरहेको छ ।

स्थानीय निर्वाचन घोषणा हुनुअगावै कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनको परिणामले अन्य दुई निर्वाचनको परिणाम निर्धारण गर्ने भन्दै कांग्रेसले जसरी पनि यो निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो।

स्थानीय निर्वाचनमा विजयी हासिल हुने गरी परिचालन हुन आम कार्यकर्तालाई समेत सभापति देउवाले पटक–पटक निर्देशन दिनुभएको थियो। साथै उहाँले आन्तरिकरुपमा पार्टी एकढिक्का भएर निर्वाचनमा होमिनुपर्ने पनि बताउँदै आउनुभएको थियो। तर, पार्टीभित्र आन्तरिक संगठन मजबुत बनाउन सभापति देउवा आफै अलमल गरिरहनुभएको छ।

सभापति देउवाले पार्टी विधानअनुसार दुई महिनाभित्र गरिसक्नुपर्ने काम एक वर्ष बित्नलाग्दासमेत गर्नुभएको छैन। केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन कार्य नहँुदा कांग्रेस केन्द्रीय समिति अझै अपूर्ण छ।

पार्टी संगठन मजबुत बनाउन विभिन्न ४२ वटा विभागहरू अझै गठन भएका छैनन्। सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन अझै नौ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छैन। पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। सभापतिले विधानअनुसार ४२ वटा केन्द्रीय विभाग गठन गर्न पनि बाँकी छ।
पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउन संसदीय समिति, संसदीय दल कार्य समितिलाई पनि पूर्णता दिन सक्नुभएको छैन। केन्द्रीय कार्यसमितिले गर्ने विभिन्न निर्णय तथा स्थानीय तहको निर्वाचनका सवालमा विभिन्न निर्णय गर्नका लागि कार्य सम्पादन समिति र संसदीय समितिको भूमिका महत्त्वपूर्ण मानिन्छ। संसदीय समिति गठन गर्नका लागि सभापतिले बाँकी पदाधिकारीको मनोनय गर्नुपर्छ।

कांग्रेसको विधानअनुसार संसदीय समितिले स्थानीय निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीको जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिलाई निर्देशित गर्छ। साथै सभापति देउवाले कार्य सम्पादन समितिसमेत गठन गर्न सक्नुभएको छैन। पार्टीको विधानअनुसार केन्द्रीय सदस्यमध्येबाट २२ जना र सात जना पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति रहनेछ। विधानले सभापति, उपसभापति, दुई जना महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता गरी सात जनालाई पदाधिकारी भनेको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुअघि नै नेपाली कांग्रेसको सबै सांगठिनक संरचनाले पूर्णता पाउने बताइएको थियो।

आन्तरिकरुपमा सांगठिन संरचनालाई पूर्णता दिन सभापति देउवाले अलमल गरिरहेको बारे कांग्रेस नेता रामहरि खतिवडा भन्नुहुन्छ– ‘यो सरसल्लाहको कमीको कारणले भएको हो, अब पार्टीले सबै सांगठनिक संरचनालाई पूर्णता दिएर चुनाव जित्ने गरी अघि बढ्छौं।’

संविधान कार्यान्वयनका लागि लोकतन्त्रवादीले चुनाव जित्नुपर्ने र कांग्रेस लोकतन्त्रवादी भएकाले सभापति देउवाले कांग्रेसले स्थानीय चुनाव जित्नुपर्ने बताएको खतिवडाले जानकारी गराउनुभयो। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।