काठमाण्डौ । संसदकै ठूलो र सत्ता साझेदार दल नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवा इण्डिया फाउण्डेसनको कार्यक्रममा भाग लिन शुक्रबार भारत प्रस्थान गरेका छन् । गोवामा आयोजित कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका भनिए पनि भित्री रहस्य भने अर्कै छ । 

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावपछि बदलिएको राजनीतिक परिस्थिति र धरापमा परेको गठबन्धनको सन्दर्भमा छलफल गर्न उनी दिल्ली गएका उच्च स्रोतले जानकारी दिएको छ । यसअघि समेत  पत्नी  आरजूको उपचारका लागि भन्दै दिल्ली गएका देउवा लगायतको सहभागितामा तत्कालीन केपी ओली नेतृत्वको सरकार गिराउने डिजाइन तयार गरिएको थियो । त्यसबेलाको डिजाइनमा कांग्रेसकै तर्फबाट नेता खूमबहादुर खड्का, माओवादीका कृष्णबहादुर महरा लगायतको सहभागिता थियो । 

यसपटक पनि इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागिताको बाहानामा गएका देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका अधिकारीहरुसँग प्रचण्ड नेतृत्वको सरकार गिराएर आफ्नो नेतृत्वको सरकार बनाउने लगायतका बिषयमा छलफल गर्ने स्रोतले बताएको छ । 

फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने भनिएको छ । त्यस अलावा गुप्तचरका अधिकारी, नेपाल डेस्क हेर्ने अधिकारीहरुसँग पनि उनको गोप्य छलफल हुनेछ । 

यसपटकको देउवाको मुख्य मुद्धा भनेको लोकमानसिंह कार्की र सत्ता समीकरण परिवर्तन मुख्य  रहेको स्रोतको दाबी छ । 

उच्च स्रोतकाअनुसार भारतीय दवाबमा अख्तियार प्रमुखमा नियुक्त भएका लोकमानसिंह कार्कीप्रति पछिल्लो समय भारतले ग्रिन सिग्नल दिएको छ । भारतको यही संकेतका कारण कांग्रेसकै दवाबमा संसद बैठक एकाएक छैठ पछिका लागि सारिएको थियो । स्रोतको दाबीलाई मान्ने हो भने लोकमानसिंह कार्कीको महाअभियोगको बिषयले देउवा स्वदेश फर्किएपछि नयाँ मोड लिनेछ । ‘कांग्रेसलाई भारतीय अधिकारीहरुले लोकमानको  पक्षमा उभिन स्पष्ट निर्देशन दिने धेरै संभावना छ ।’ स्रोतले भन्यो–‘यही सिग्नल पाएका कारण पछिल्लो समय लोकमान टसमस भएका छैनन् । उनी आफूमाथि महाअभियोगको प्रस्ताव पारित हुनै नसक्नेमा ढुक्क छन् ।’

यसैगरी, महाअभियोगको प्रस्ताव संसदबाट फेल गर्नैका लागि आउने सातादेखि प्रचण्ड सरकारलाई गिराउने खेल सुरु हुने बताइएको छ । ‘अब प्रचण्ड सरकारको दिनगन्ती सुरु हुनेछन् ।’  उच्च स्रोतले भन्यो–‘देउवा आफ्नै नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्ने दाउमा छन् ।’ 

देउवा भारतबाट कात्तिक २३ गते फर्कनेछन् र उनी फर्किएपछि नेपालको राजनीतिले भिन्न मोड लिने बताइएको छ । पछिल्लो समय प्रचण्ड स्वयम् पनि चौतर्फी घेराबन्दीका कारण सत्ताबाट बहिर्गमन हुन चाहिरहेका  छन् । त्यसो त यो बीचमा केपी ओलीले समेत सरकारको नेतृत्व गर्ने संभावनाहरु देख्ने गरिएको थियो । तर, ओलीले तत्काल सत्तामा नजाने र भारतविरोधी जनमतलाई आफ्नो पक्षमा पारी आगामी निर्वाचनमा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने रणनीति लिएका कारण ओलीले सरकारको नेतृत्व गर्ने संभावना खासै छैन ।