काठमाण्डौ । देशका माइक्रो फाइनान्समध्ये धेरैपटक उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत सुनसरीको दुहबीस्थित फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले कनिष्ठ सहायक पदमा १ सय ५ जना कर्मचारी माग गरेको छ । 

व्यवस्थापन पढ्दै गरेका र प्लस टु उत्तीर्ण गरेकाहरुलाई फरवार्डले रोजगारीको अवसर दिन लागेको हो । 

बिहीबार सो कम्पनीले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै देशका तराई तथा पहाडी क्षेत्रका विभिन्न जिल्लाका दुर्गम तथा ग्रामीण भेगमा काम गर्ने गरी कर्मचारी मागेको हो । 

सहायक श्रेणीका लागि १ सय ५ जना माग गरिएको छ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका तथा प्लस टूको अध्ययन पूरा गरेकाहरुले दरखास्त दिनसक्ने सूचनामा उल्लेख छ । 

कर्मचारीहरु छनौटमा लिखित, फिल्ड अवधारणा तथा अन्तर्वार्ताको विधि अपनाइनेछ । 

ग्रामीण तथा दुर्गम क्षेत्रमा त्यहाँको समुदायसँग घुलमिल भएर काम गर्नसक्ने हुनुपर्ने, स्थानीय भाषा राम्रोसँग बोल्ने तथा बुझ्नसक्ने, कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको र तराईमा काम गर्नेेले साइकल कुदाउन जानेको हुनुपर्ने उल्लेख छ । 

परीक्षा दस्तुर ५ सय रुपैयाँ तोकिएको छ । लिखित परीक्षा आगामी कात्तिक ६ गते हुने छ । लिखित परीक्षाका लागि सुनसरीको दुहबी, दांगको लमही र धनगढीको कैलाली लगायतको क्षेत्रमा केन्द्र तोकिएको छ । 

इच्छुक उम्मेद्वारहरुले आगामी असोज ६ गतेभित्र दरखास्त दिइसक्नुपर्ने बताइएको छ । दरखास्त सम्बन्धी कुनै द्विविधा हुनेले फरवार्डको केन्द्रीय कार्यालय सुनसरीको दुहबीको ०२५–५४००१८ मा सम्पर्क गर्न सक्नेछन् ।