गाईघाट(उदयपुर) । मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ ।

उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताएका छन् । 

दुई हप्तादेखि उद्योगबाट सिमेन्ट उत्पादन कार्य बन्द हुँदा अहिलेसम्म झन्डै उद्योगले रु १० करोडको घाटा व्यहोर्नुपरेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले बताए । 

उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि उक्त चैनको पुनः मर्मत गर्न भारत लान परेको कारण उद्योग बन्द भएको कर्मचारी बताउँछन् । 

चार महिना अघि पनि यसरी नै मिलको गियरचैन बिग्रँदा उद्योग झन्डै २५ दिन उद्योग बन्द हुन पुगेको कर्मचारी बताउँछन् ।

उक्त समयमा पनि उद्योगले झन्डै रु २० करोड घाटा व्यहोर्नुपरेको थियो । तर वर्षभरि नै उद्योगको मिलको गियरचैन बिग्रने र उद्योग बन्द हुँदा घाटामा जाने गरेको भए तापनि उद्योगको लागि जापानबाट नयाँ गियरचैन ल्याउने कार्यतर्फ उद्योग प्रशासन तथा मन्त्रालय गैरजिम्मेवारी हुँदा यस्तो समस्या आएको उद्योगका एक कर्मचारीले बताए ।    

बिग्रेको गियरचैन र मेसिन मर्मत गर्नुभन्दा पनि जापानबाट नयाँ मेसिन खरिद गरेर ल्याए दसौँ वर्ष उद्योग निरन्तर चल्ने उद्योगका तल्ला तहका कर्मचारीको धारणा छ । 

तर पुरानो मेसिन मर्मत गर्ने र भारतमा लगेर मर्मत गर्ने नाममा कमिसन खान पाउने हुनाले जिम्मेवार व्यक्तिले नै नयाँ मेसिन र गियरचैन खरिद गरेर ल्याउन नचाहेको आरोप तल्ला तहका कर्मचारीको रहेको छ । 

विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्णरुपमा सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग हो । यसको सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ८०० मेट्रिक टन रहेको छ ।