काठमाण्डौ । भवन अभावमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ । परिसरभित्रको एउटा टेन्टको नाम हो–मोबाइल शाखा । सेवाग्राहीलाई घुम्दै सेवा दिने भएका कारण यसको नाम मोबाइल शाखा राखिएको भने होइन । यो त हराएका र चोरी भएका मोबाइल खोज्नका लागि परिसरले जुराएको शाखाको नाम हो, जहाँ उपत्यका १४ वटै वृत्तमा पर्ने मोबाइल हराएका निवेदनहरु आउँछन् । कति निवदेन यो शाखामा नै आउँछन् ।

माछापोखरीका छिरिङ तामाङ २१ हजार पाँच सय पर्ने मोबाइल हराएपछि बिलखबन्दमा परेका छन् । आइतबार महानगरीय प्रहरी परिसरको काठमाडौंको मोबाइल शाखामा पुगेका तामाङलाई आफ्नो मोबाइलको जति माया छ, त्यो भन्दा धेरै चासो भने त्यसमा रहेको तस्बिर, सूचना र अन्य जानकारीहरुको छ ।

शाखाको तत्थ्याङ्ले देखाउँछ काठमाडौंमा हराउने र चोरी हुने मोबाइलको संख्या ठूलो छ । शाखाका अनुसार प्रत्येक दिन औसतमा काठमाडौंबाट २४ वटा मोबाइल हराउने र चोरी हुने गर्छन् । जबकि भेटिने मोबाइलको संख्या भने औसतमा दुई वटा पनि छैन । शाखाका अनुसार हराउने वा चोरी हुने मोवाइलको औसत मूल्य २५ हजार रुपैयाँ छ । जस अनुसार औसतमा दैनिक ६ लाख रुपैयाँ बराबरको मोवाईल हराउने र चोरी हुने गर्छन् ।

आर्थिक बर्ष ०७३,७४ मा मात्रै ८ हजार ६ सय १६ मोबाइल हराएको उजुरी परिसरमा परिसकेको छ । जबकि त्यो बीचमा ६ सय ६१ मोबाइल मात्र भेटिएका छन् ।

शाखा सम्हालिरहेका सबइन्स्पेक्टर राजेन्द्र भण्डारीका अनुसार चोरिएकाभन्दा हराएका मोबाइल खोजीका निम्ति धेरै उजुरी पर्ने गरेका छन् ।

मोबाइल किन भेटिदैनन् त ?
भण्डारीका अनुसार केही अघिसम्म चोरिएका वा हराएका मोबाइल व्यक्तिले नै प्रयोग गर्थे र प्रहरीले कल लोकेसन कल डिटेलका आधारमा मोबाइल पत्ता लगाउँथ्यो। भण्डारीले भने, ‘हिजोआज चोरिएको वा भेटिएका मोबाइल फिर्ता गर्नुपर्ने डरले मोबाइल पसलहरुमा वा अनलाइनमार्फत बिक्रि गर्ने चलन बढेको छ।’

यसरी पसलमा बेचिएका मेबाइलको धने पाटपुर्जा निकालेर बेचिन्छ भने अनलाइनमार्फत बिक्री भएका मोबाइल प्रहरीले फेला पारेपनि कसले भेटाएर वा चोरेर अनलाइनबाट बिक्री गरेको हो पत्ता लाग्दैन । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।