काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र दलालहरुलाई बैशाख १५ गतेसम्म शाखा बिस्तार गर्न निर्देशन दिएको छ । 

यो निर्देशनसँगै धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व बढेको हो कि भन्ने आशंका समेत उब्जिएको छ । 

नेप्सेले दोश्रो बजार बिस्तारको उद्देश्यले नेप्सेका ४१ सदस्य दलालहरुले शाखा(आरडब्ल्यूएस) बिस्तार तथा संचालन गर्न स्वेच्छिक रुपमा आवेदन परेको उल्लेख गर्दै भनेको छ–‘नेप्सेले शाखा विस्तारका लागि २०७३ माघ ११ गते स्वीकृत प्रदान गरी विभिन्न शर्तसहित पूर्वाधार तोकिदिएको थियो । सोही अनुरुप सम्बन्धित सदस्य दलालहरुलाई यस सम्बन्धमा भएको प्रगति विवरण पेश गर्न फागुन २४ गते पुनः पत्राचार गरिएकोमा केही आवेदक सदस्य दलालहरुबाट तोकिएको मापदण्ड पूरा गरेको विवरण प्राप्त हुन नआएकोले २०७४ वैशाख १५ गते सम्म तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न हुन जानकारी गराईएको छ ।’

नेप्सेले बैशाख १५ गतेभित्र आरडब्ल्यूएस स्थापना गर्न नसक्नेहरुको ठाउँमा इच्छुक दलाल कम्पनीहरुलाई शाखा बिस्तारमा अवसर दिने पनि प्रष्टाएको छ । 

दुुई दिनअघि नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कानूनमा शाखा बिस्तारको स्पष्ट व्यवस्था नभएकोले त्यसमा समेत सुधार गरेर अगाडि बढिएको र दलाल व्यवसायीको शाखा बिस्तार तथा आवश्यक कानून संसोधनको कार्य समेत एकसाथ अगाडि बढाइएको बताएका थिए । कानून संसोधनको बिषयमा नेप्सेको विज्ञप्ति मौन रहेपछि कतिपयले धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व चर्किएको हो कि भन्ने अनुमान पनि गरेका छन् । वास्तविकता के होला ? धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आफूहरु शाखा बिस्तारको विपक्षमा नरहेको उल्लेख गर्दै बोर्डकै चाहना अनुसार नेप्सेले शाखा बिस्तारको निर्देशन दिएको स्पष्ट पारे । ‘हामी पनि धितोपत्र दलाल सदस्यको शाखा बिस्तार होस् भन्ने नै चाहिरहेका छौ ।’ उनले भने–‘हाम्रो चाहनाअनुसार नै नेप्सेले निर्देशन दिंदा कसरी द्वन्द्व भन्न मिल्छ ?’

उनले भोलिका दिनमा काम गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले कानूनमा समेत आवश्यक संसोधनको कामलाई समेत अगाडि बढाउनुपर्नेमा जोड दिए । 

यसअघि देशका विभिन्न शहरमा ९ धितोपत्र दलाल सदस्यहरुले आफ्नो आरडब्ल्यूएस बिस्तार गरी काम गरिरहेका छन् । अस्तित्वमा रहेको जुन कानूनले ९ वटालाई आरडब्ल्यूएस बिस्तारको मार्गप्रशस्त गर्यो, सोही कानूनमा टेकेर अन्यले समेत आरडब्ल्यूएस बिस्तार गर्न कुनै रोकछेक नभएको विज्ञ बताउँछन् ।