काठमाण्डौ । भएको पैसा जति एफपीओ र आइपीओमा फ्रिज भएर अड्किएको अवस्थामा पनि यत्रो कारोबार ? पछिल्लो समय सेयर बजारको दैनिक कारोबार रकमलाई हेर्दा धेरैले सोध्ने आश्चर्यमिश्रित प्रश्न हो यो । यसको अर्थ स्पष्ट छ, पैसा नभएको अवस्थामा समेत अनेक जोडजाम गरी मानिसहरु सेयर खरीद गरिरहेका छन् । यसलाई अझ परिस्कृत भाषामा भन्दा सेयर बजारमा नजानिँदो सुधार भइरहेको छ, सकारात्मक संकेतहरु देखिइरहेका छन् । 

विगत एकसाता भन्दा अगाडिदेखि बजारमा औसतमा दैनिक ३४ करोडको हाराहारीमा कारोबार भइरहेको छ । लगानीकर्तासँग भएको ६० अर्ब बढी सार्वजनिक निश्कासन खरीदका नाममा फ्रिज हुँदा समेत यो अनुपातमा कारोबार हुनुलाई विश्लेषकहरुले समेत राम्रो संकेतको रुपमा लिएका छन् । यस्तो अवस्थामा समेत बजार स्थिर छ, यसले लगानीयोग्य रकम फुकुवा भएलगत्तै बजारले नयाँ गति लिने स्पष्ट देख्न सकिन्छ । 

आम कौतुहुलताका बीच साताको पहिलो कारोबार दिन आइतबार ३० करोडको हाराहारीमा सेयर किनबेच भयो । नेप्से परिसूचक ३.२८ अंकले बढ्यो भने ५ समूहको सूचकमा पनि हरियो पोतियो । तीन समूहको सूचक घटे पनि घट्ने अनुुपात सामान्य मात्र रह्यो । यसले भविष्यमा बजारमा ठूलो पहिरो गइहाल्ने अवस्था नरहेको देखाउँछ । 

आइतबार वाणिज्य बैंक समूह  ५.३९ अंकले बढ्यो भने होटल, बिमा, उत्पादनमूलक र अन्य समूहमा क्रमशः ८.२१, ३.४, ३३.३८ र २.६ अंकले उक्लिए । जलविद्युत समूह १३.५८ अंकले घट्यो भने विकास बैंक र बित्त समूहमा क्रमशः २.४ र ४.२८ अंकको गिरावट देखियो । 

''क'' वर्गका कम्पनीहरुको सेयरमा खरीदकर्ताको आकर्षण देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.९१ अंकले बढ्यो । समग्र सेयरको कारोबार पनि सकारात्मक नै देखिएको छ । यही कारण फ्लोट इण्डेक्स पनि ०.१ अंकले वृद्धि भएको देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार कुल १३२ कम्पनीका ७ लाख २९ हजार ८ सय कित्ता सेयर २९ करोड ९१ लाख रुपैयाँमा किनबेच भयो । यसमा वाणिज्य बैंकहरुले १३ करोड ३१ लाख बराबरको कारोबार गरे भने बिमा कम्पनीहरुले ४ करोड ६६ लाख र विकास बैंकहरुले ३ करोड १८ लाख बराबरको कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा बढी प्रभूू बैंकको ६ करोड बढीको प्रोमोटर सेयरको किनबेच भयो । नेपाल एसबीआई बैंकले १ करोड ८२ लाख, सिद्धार्थ बैंकले १ करोड ४४ लाख, प्रभूू बैंकले १ करोड ३८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख बढीको कारोबार गरे । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक र २ स्थान बिमा कम्पनीको कब्जामा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
थोरै नै सही, तर आइतबार बजारमा गुमाउने भन्दा कमाउने कम्पनीको संख्या बढी देखियो । कुल १३२ कम्पनीमध्ये ६१ कम्पनीले गुमाए भने बाँकी सबै कम्पनीले कमाए । 

आइतबार कमाउनेमा राष्टिय बिमा संस्थान लिमीटेड अगाडि रह्यो । यो कम्पनीको साधारण सेयरको मूल्य १० प्रतिशतले वृद्धि भयो भने संस्थापक सेयरको मूल्य ८.२२ प्रतिशतले बढ्यो । नेपाल एसबीआई बैंकको सेयर मूल्य पनि ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

आइतबार सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ७.३० प्रतिशतले घट्यो । पूर्णिमा विकास बैंकको सेयर मूल्यमा पनि ५.२४ प्रतिशतको गिरावट देखियो ।