काठमाण्डौ । नोकियाको पहिचान दिलाएको मोवाइल फोन ३३१० मोडल फेरि बजारमा आएको छ । 

यो फोन करिब १७ वर्षअघि लञ्च भएको थियो । सो बेला यो फोन विश्वकै सबैभन्दा धेरै बिक्री हुने फोन बन्न सफल भएको थियो । 

सन् २००५ मा बन्द हुनुुअघि यो मोडेलको फोन विश्वभरि १२ करोड ६ लाख थान बिक्री भएको थियो । 

१७ वर्षपछि ३३१० मोडेलको नयाँ भर्सन लञ्च गरिएको छ । हाल नोकिायको ब्राण्ड फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । 

बीबीसीका अनुसार विशेषज्ञहरुले पुरानो र निकै चलेको ब्राण्ड रिलञ्च भएसँगै यसले बजार तताउने बताएका छन् । नोकिया ३३१० आफ्नो मजबुती र सर्पको एक रमाइलो खेलका लागि निकै चर्चित छ । 

एचएमडीले आफ्नो पुरानो भर्सनका साथमा अरु तीनवटा एन्ड्रोइड फोन समेत लञ्च गरेको छ । 

प्राविधिक विशेषज्ञ बेन वुडले बीबीसीलाई भनेका छन्–‘यदि एचएमडीले एन्ड्रोइड फोन मात्र लञ्च गरेको थियो भने अखबारमा उसका लागि एउटा कोलम मात्र प्राप्त हुन्थ्यो होला, तर ३३१० मोडेलसँगै लञ्च गर्दा उसलाई निकै ठूलो कभरेज प्राप्त भएको छ ।’ उनले ३३१० मोडेलको रिलञ्चले नोकिया ब्राण्डका अन्य स्मार्टफोन बिक्रीमा समेत तीव्रता आउने दाबी गरेका छन् । 

३३१० मोडलमा इन्टरनेटको विशेषता समेत थपिएको छ । यो खास गरी फिचर्स फोन नै हो । यो फोनमा थ्रीजी र फोरजी सपोर्ट गर्ने सिस्टमको साथमा २.५ जीलाई समेत पक्रने विशेषता राखिएको छ । 

फोनमा २ मेगापिक्सेलको एक क्यामेरा समेत छ भने यसको खास विशेषता यसको ब्याट्री हो, जो धेरै टिक्नेछ । एचएमडीले यो फोनको ब्याट्री एकपटक चार्ज भएपछि २२ घण्टासम्म कुरा गर्न सकिने दाबी गरेको छ । फोनभित्र सर्पको खेल समेत इन्स्टल गरिएको छ । 

एचएमडीका सीइओ आर्टो नूमेलाले भनेका छन् कि यो फोन डिजिटल डिटोक्स या होलीडे फोनको रुपमा प्रयोग हुनेछ । 

उनका अनुसार यदि तपाई आफ्नो स्मार्टफोन बन्द गर्न चाहनुहुन्छ र आफ्नासँगको सम्पर्क चाहि राखिरहन चाहनुुहुन्छ भने ३३१० मोडेलको नयाँ भर्जन लाइफलाइन बन्नेछ । उनका अनुसार नोकिया ब्राण्डका अन्य ६ स्मार्टफोन समेत चाँडै नै लञ्च हुनेछन् ।