नयाँदिल्ली । आफूलाई चतुर नेताको रुपमा प्रस्तुत गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउने खबरले चर्चा पाइरहेको छ । यही बेला नरेन्द्र मोदीको झूठको ठूला पर्दाहरु खुल्ने संकेत देखिएको छ । उनले आफूलाई मानविकी संकायको डिग्री होल्डर बताउँदै आए पनि वास्तवमा उनले कुनै डिग्री नलिएका र डिग्रीको सर्टिफिकेट नै नक्कली हुनसक्ने आधारहरु तयार हुन थालेका छन् । 

आम आद्मी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीको बिषयमा छानबिन हुनुपर्ने माग गरेपछि यो बिषयमा छानबिन सुरु भएको छ । केजरीवालले भारतका मुख्य सूचना आयुक्तलाई एक चिठी नै लेखेर नरेन्द्र मोदीको डिग्रीको बिषयमा मागिएको जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् । 

केजरीवालले एक मिडिया रिपोर्टमा भनेका छन् कि केन्द्रीय सूचना आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीभित्रको फट्याईंलाई छोप्न खोजेको र डिग्रीको बिषयमा आवश्यक जानकारी दिन अस्वीकार गरेको छ । उनले मोदीको डिग्रीको बिषयमा सूचना नदिए यसले गलत परम्परा बस्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । मिडिया रिपोर्ट मुताबिक प्रधानमन्त्री मोदीको डिग्रीको बिषयमा आवश्यक जानकारी सार्वजनिक गर्न सूचना आयोगले रोक लगाएको भन्दै त्यसमा केजरीवालले प्रश्न उठाएका  थिए । 

उनले प्रम मोदीसँग कुनै पनि डिग्री नभएको दाबी गरेका छन् । उनले आफ्ना प्रधानमन्त्रीको झूठको बिषयमा सारा देशबासीले जान्न पाउनु उनीहरुको अधिकारको बिषय भएको स्पष्ट पारेका छन् । केजरीवालले यदि सूचना आयोगले आफ्नो पनि डिग्री सार्वजनिक गर्न चाहन्छ भने उनलाई कुनै आपत्ति हुने छैन । 

यसैबीच, बीबीसी हिन्दीका अनुसार केन्द्रीय सूचना आयोगले प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिंदै भनेको छ कि प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीको व्यहोरा दिल्ली युनिभर्सिटी र गुजरात युनिभर्सिटीमा गएर छानबिन गर्नु, ताकि युनिभर्सिटी सोसँग सम्बन्धित जानकारी सर्वसाधारणलाई सक्षम होस् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सूचना आयोगको निर्देशनलाई स्वागत गरेका छन् । 

मोदीले सन् २०१४ को लोकसभा चुनावको दौरान बराणसीबाट उम्मेद्वारी दिने क्रममा लिखित रुपमै आफूले सन् १९८३ मा गुजरात युनिभर्सिटीबाट मास्टर अफ आर्टसको डिग्री प्राप्त गरेको उल्लेख गरेका थिए । त्यसअघि उनले सन् १९७८ मा दिल्ली युनिभर्सिटीबाट ब्याचलर अफ आर्टसको डिग्री लिएको दाबी गर्ने गरेका छन् ।