किशोर महर्जन, सीइओ-सिभिल बैंक लिमीटेड

२०७२ बैशाख १२ गते भूकम्प आउँदा म नर्भिक अस्पतालमा थिएँ । मेरो आमा क्यान्सरबाट पीडित हुनुहुन्थ्यो, उपचारका लागि उहाँलाई त्यहाँ भर्ना गरेका थियौं । सो दिन भूकम्प आउनुभन्दा आधा घण्टाअघि आमालाई ह्वीलचेयरमा राखेर म र मेरो भाञ्जा नर्भिकको पाँचौ तलाको लबीमा बसेर आमालाई त्रिपुरेश्वरको दृश्य देखाउँदै थियौं । हामी पनि पाँचौ तलाबाट काठमाण्डौको दृश्य नियाल्दै थियौं । त्यही बेला डा. जैसवाल र अर्का एक डाक्टर पनि आउनुभएको थियो, हामी उहाँहरुसँग पनि गफिँदै थियौं । यही क्रममा एकाएक घर हल्लिन थाल्यो । केही समय त हामीले आफ्नो जिउलाई सम्हाल्यौं । डाक्टरहरु कुदाकुद गर्न थाले । लिफ्टको वरिपरि टालेका ग्रेनाइटहरु उप्किदै झर्न थाले । कार्पेटमा उभिएका थियौं, कसैले तलबाट कार्पेट तानेर लडाएजस्ता गर्यामगुरुम पछारियौं । त्यसबेलासम्म पूरै हल्लाउन थालिसकेको थियो । सँगै रहेका भाञ्जा पनि लड्नुभयो । आमाको ह्वीलचेयर पनि लड्यो, हामी दुवैले आमाको ह्वीलचेयर समाउन खोज्यौं, तर सकेनांै । त्यसपछि उठ्न खोजेको फेरि लडायो । म सबैभन्दा तल परेछु, मेरो माथि ह्वीलचेयर र अनि ह्वील चेयरमाथि आमा पर्नुभएछ । फेरि हतार–हतार हामी उठ्यौं । भाञ्जा पनि उठ्नुभयो र हतार–हतार मुआ(आमा)लाई ह्वीलचेयरमा राख्यौं, फेरि भूकम्पले हामीलाई लडायो । त्यसपछि चाहि उठ्ने चेष्टा गरेनौ र आमाको ह्वीलचेयर समातेर हामी घूँडा टेकेर बस्यौं । त्यो बेलाको दृश्य सम्झँदा हामीले हाम्रो अगाडिको संभावित मृत्युसँग बच्न निकै ठूलो संघर्ष गरेका थियौं भन्ने अनुभूत हुन्छ । मानिस बाँच्न र आफ्ना प्रियजनलाई बचाउन जस्तोसुकै त्रासपूर्ण अवस्थामा पनि हिम्मत हार्दो रहेनछ । 

घूँडा टेकेर भूकम्प रोकिने समय प्रतिक्षा गरेर बसिरहँदा नर्भिक अस्पतालका पर्खालका प्लस्टरहरु जुन हिसाबले क्र्याक भयो, त्यो झनै डरलाग्दो थियो । करिब ४ देखि ५ फिटको ग्यापमा प्लाष्टरहरु क्र्याक भइरहँदा आएको आवाज अझ डरलाग्दो थियो । त्यसबेलाको आवाज सम्झँदा अहिले पनि माइण्ड तर्सिन्छ, त्यस्तो डरलाग्दो अवस्था देखेर अझै मन तर्सिन्छ । 

त्यही क्रममा हामीले पाँचौ तलाबाट त्रिपुरेश्वर र आसपासको दृश्य नियाल्यौं । त्रिपुरेश्वरको राम मन्दिर गल्र्यामगुर्लुम ढलेको अत्यासलाग्दो दृश्य देख्यौं । बाहिर चरा कराएको आवाज, मान्छेको चिच्याहट अहो ! साच्चिकै त्रासपूर्ण थियो । राष्ट्रबैंकको भवन भत्किएको दृश्य र आवाजले समेत हाम्रो सातो लगिसकेको थियो । अहिले ती दृश्य र आवाज सम्झँदा पनि मन डराउँछ, झसङ्ग हुन्छ । 

हामी घूँडा टेकेर बसिरहँदा त्यही लबीमा करिब २५ फिट पर मेरो एकजना माइजू सोफामा हुनुहुन्थ्यो, उहाँलाई त भूकम्पले सोफाबाट लडाएछ र भूइँमा पछारेको देख्यौं । माइजु त भूकम्पको कम्पनले चिप्लिएर भर्याङतिर झर्नु हुँदै रहेछ, भाञ्जाले उहाँलाई पनि समातेर बचाउनुभयो । १ मिनेटसम्मको त्यो अत्यास र त्रासको अवधि घण्टौ जस्तो लागेको थियो । मलाई लाग्यो, अब नर्भिकको यो भवन पनि भत्किन्छ । कसरी बाँचिन्छ होला भन्ने पनि सोंच आयो । नर्भिकको ९ तलाको भवन थियो, हामी पाँचौ तलामा थियौं, यति धेरै हल्लाइरहेको थियो कि अब बाँचिन्छ भन्ने लागेकै थिएन । एकमिनेटपछि जब हल्लिन केही कम भयो, त्यसपछि ह्वील चेयर समातेर त्यहाँ मुआलाई राखी भाञ्जा र मैले बोकेर मुआलाई भूईँमा लग्यौं । हामी जाँदा त नर्भिकको पार्किङ एरियामा बिरामी र तिनका आफन्तको बजार लागिसकेको रहेछ । कोलाहलपूर्ण अवस्था रहेछ त्यहाँ । तर त्यो बेला बिरामीहरुलाई समयमै खुल्ला क्षेत्रमा ल्याउनका लागि केही सहज भयो, कारण शनिवार भएकोले धेरै भिजिटरहरु आएका थिए, अस्पतालका स्टाफ मात्र थिए भने त करिब १ सय बिरामीलाई सुरक्षित ढंगले खुल्ला क्षेत्रमा ल्याउन संभव नै थिएन । भिजिटरहरु आफैले आफ्ना बिरामीलाई तल झारे । रगत तथा स्लाइन चढाइरहेकाहरुलाई त्यस्तै अवस्थामा तल ल्याइयो । अक्सिजन आवश्यक हुने बिरामीलाई सिलिण्डर सहित तल झारियो । हामी पार्किङ लटमा बस्दा समेत पटक–पटक हल्लायो । त्यसपछि त्यहाँ बसिरहनु उचित नलागेर हामी घर जाने निधोमा पुग्यौं । 

अस्पतालबाट तल आएपछि घरमा के भयो, कसो भयो भन्ने पीरले सताइरहेको थियो । धेरै फोन गरियो, लाग्दै लागेन । बरु अमेरिका, इंग्ल्याण्डमा रहेका आफन्त, छोराहरुसँग भाइबरबाट तुरुन्तै कुराकानी भयो । नेपालमै चाहि २० मिनेटसम्म फोन डिस्टर्ब भएको थियो । त्यही क्रममा अनेकन समाचारहरु आउन थाले । कसैले पोखरा ध्वस्त भयो रे भने, कसैले पोखराको चिडियाखानाको पर्खाल भत्किएर केही बाघहरु बाहिर निस्किए रे पनि भने । विपदका बेलामा आएको यस्तो हल्लाले मानिसको मनमा थप डरहरुले प्रवेश पाए, मानिसहरु थप आत्तिए, हामी पनि लौ अब संसार सकिनै लागेछ भन्ने निश्कर्षमा पुगेका थियौं । 

हामीसँग घर जानुबाहेक अन्य विकल्प नै थिएन । अस्पताल भवनको प्लास्टर खसेर धेरै तला अस्तव्यस्त भएको थियो । त्यस्तो ठाउँमा बस्नु उचित थिएन । फेरि भूकम्पका कारण विभिन्न ठाउँमा घाइते भएकाहरुलाई त्यहाँ ल्याउने क्रम समेत सुरु भइसकेको थियो । त्यस्तो अस्तव्यस्तपूर्ण अवस्थामा बस्नुभन्दा बरु घर नै जानु उचित ठान्यौं । 

मेरो घर तीन तलाको हो । पुल्चोकको घर नयाँतर्फ ठूलो क्षति नपुगे पनि पुरानोतर्फ भने केही क्र्याक भयो । धन्न घरमा हुनुहुने मेरो बुबा र फूपू समेत सुरक्षित नै हुनु हुँदो रहेछ । 

घर पुगेपछि हामीले गार्डेनको फराकिलो ठाउँमा बस्ने व्यवस्था मिलायौं । वरिपरिका छरछिमेकीहरु समेत गरी ६० जना जति एकैठाउँमा बस्यौं । करिब २ हप्तासम्म त्यहाँ बसियो । खाना बरण्डामा पकाउने व्यवस्था मिलाइयो भने गार्डेनमा टेन्ट टाँगेर बस्ने व्यवस्था गरियो । सो क्रममा एकआपसमा खानेकुरा पनि शेयर गर्यौं । त्यही पकाउने, खाने, एकहिसाबले त लामो पिकनिक जस्तो पनि भयो त्यो बेलाको बसाईं । वर्षौदेखि नभेटेको, नचिनेको छिमेकीबीच चिनजान हुने, आत्मीय हुने मौका समेत मिल्यो । 

भूकम्पले खायो मेरी आमा
भूकम्पकै कारण प्रोपर उपचार हुन नसकेपछि मेरो मुआ साउन दोश्रो सातातिर बित्नुभयो । उहाँलाई सर्भाइभ हुन गाह्रो भयो, प्रोपर उपचार हुन सकेन । लामो समयसम्म गार्डेनमा बस्दा उहाँलाई चिसो लाग्यो, निमोनिया भयो चिसोका कारण । त्यसपछि हामीले डर र त्रास हुँदा–हुँदै पनि पराकम्पनहरुको सामना गर्दै नर्भिक, ग्राण्डी र निदान अस्पतालसम्म पुर्यायौं । ट्रिटमेन्ट राम्रो हुन सकेन, भूकम्पका कारण कम्प्लीकेसन आइरहने अवस्था भयो । मेरो मुआलाई बोनम्यारोको क्यान्सर थियो । त्यसरी समूहमा राख्दा इन्फेक्सनको ठूलो डर हुन्थ्यो, तर त्यसबेला अर्को उपाय पनि थिएन हामीसँग । भूइँचालाले गर्दा मुआको उपचार प्रोपर हुन पाएन, रोग बल्झिदै गयो । करिब ७–१० दिन उपचार गर्यो, फेरि ग्यापहरु भए । बोनम्यारोको क्यान्सर फैलिएर इन्टेसटाइनमा आएपछि उहाँलाई गाह्रो भयो र स्वर्गबास हुनुभयो । 

आफैँ अगाडि मृत्यु देख्दा मनमा के आयो ?


एकदमै डरलाग्दो अवस्था थियो । एकतमासले भूकम्पले हल्लाइरहँदा मेरो मनमा मुआलाई डर नहोस्, उहाँलाई कसरी  बचाउने भन्ने कुरा खेलिरहेको थियो । तीनपटकसम्म भूइँमा पछारियौं, घूँडा टेकेर बस्यौं । अब यो भवन भत्किन्छ, कसरी बाँच्ने होला भन्ने बिषयले पनि बढी नै पिरोलेको थियो । यसो झ्यालको तल हेरेको, हाम्फाल्न मिल्ने ठाउँ देखेँ, यहाँ हाम्फाल्यो भने त बाँच्छु होला जस्तो पनि लाग्यो । फेरि म त बाँचौला रे, मुआलाई कसरी बचाउने ? साच्चिकै ठूलो छटपटी र संकटपूर्ण अवस्था थियो त्यो बेला । नर्भिकको पर्खालमा करिब २० ठाउँमा चिरा परेको आफ्नै आँखाले देख्दा जीवनको अन्तिम क्षण नै यही रहेछ जस्तो पनि लाग्यो । तर मृत्युको क्षण मुखमै आउँदा समेत कुनै उपाय नलागेपछि मान्छे सकेसम्म बाँच्न खोज्ने, नसके संभावित कठोर परिस्थितिको सामना गर्नैपर्ने मूडमा पुग्दो रहेछ, मैले त्यही अनुभूत गरेँ । 

दोश्रो पटकको भूकम्पमा चाहि म अफिसमै थिएँ, एकजना क्लाइन्ट साथीसँग कुरा गरेर बसिरहेको बेला हल्लाउन थालेको थियो । उफ्रिएर हामी बाहिर गयौं, बाहिर गएर पिलर समातेँ, कुद्नु र भाग्नुभन्दा उत्तम यही थियो । मेरो साथीले पनि पिलर समातिरहेको थियो, तर उसले समातेको पिलर चाहि नक्कली थियो, मलाई त्यो देखेर हाँस उठ्यो, तर ऊ जून आत्मविश्वासका साथ पिलर समातेर बसेको थियो, मलाई डिस्टर्ब गर्न मन लागेन र केही भनिँन । 

भूकम्पले के पाठ सिकायो ?
भूकम्पले कमसेकम नजिककै छिमेकीहरुबीच पनि चिनजान गरायो । नचिनेको मान्छे बसाईंको क्रममा भेटिए । नभेटिएको मान्छे पनि भेटिए । सम्बन्ध पनि गाँसिन आयो, छिमेकीबीच आत्मीयता बढायो, सामाजिक बनायो । केयरिङ र शेयरिङको भावना आयो, त्यो नै भूकम्पको सबैभन्दा सकारात्मक प्रभाव हो । भूकम्पअघि बाहिर बाटोमा भेट्दा बोल्दिँन थिएँ हुँला, चिन्दिँन थिएँ हुँला । अहिले आएर सम्बन्ध आत्मीय  भयो, अब बाटोमा भेट्दा के छ, कसो छ भन्ने सम्मको सम्बन्ध भयो । हेल्लो हाई हुन थाल्यो । यो नै सबैभन्दा ठूलो उपलब्धि र भूकम्पले सिकाएको सामाजिक पाठ हो ।

बैंकलाई कस्तो क्षति पुग्यो ?
बैकिङ सेक्टरले भूकम्पका कारण अस्तव्यस्त वातावरणलाई सहज तुल्याउन ठूलो भूमिका खेलेको छ । शनिवार भूकम्प आयो, आइतबार अस्तव्यस्त भइयो । सोमबार बिहान सबै बैंकका सीइओ राष्ट्रबैंकको बगैंचामा बसेर कसरी बैकिङ सेवालाई सुचारु गर्ने भन्ने बिषयमा छलफल गरेका थियौं । जुनसुकै व्यवस्था बन्द हुनसक्ला, तर बैकिङ सेक्टरबाट जुन हिसाबले जनतालाई दिनुपर्ने नगदी कारोबारको सुविधा हो, त्यो बन्द गर्नुहुँदैन भन्नेमै सबैको एकमत थियो । हामी सकेसम्म हाम्रा सेवा सुचारु गर्ने निश्कर्षमा पुग्यौं । सोही निर्णय अनुसार हाम्रो बैंकले सकेसम्म सबै शाखाबाट कमसेकम दैनिक ३ घण्टाको सेवा दिने काम गर्यौं । हाम्रा कतिपय बैंकका शाखा भत्किए, भाग्यवश शनिवारको दिन भएकोले कुनै पनि कर्मचारीलाई केही भएन । स्वयम्भुको शाखा रहेको घर भत्कियो, घरधनी नै बिते । मेलम्ची शाखा रहेको घर, गोरखा आरुघाट शाखा रहेको घर तथा बाह्रबिसेको शाखा रहेको घर समेत भत्कियो । 

भत्किएको ठाउँमा पनि हामीले सेवा दिइरह्यौं । अरु ठाउँमा ३ घण्टाको सेवा निरन्तर गरिरह्यौं । बाह्रबिसे, मेलम्ची लगायतमा हामीले यहाँबाट हप्तामा २ पटक गाडीमा पैसा राखेर, सुरक्षासहित मेलम्चीमा एकदिन, बाह्रबिसेमा एक दिन गरेर बैकिङ सुविधा पनि दियौं । मेलम्चीमा अन्य कुनै बैंक नै थिएन । बाह्रबिसेमा केही बैंक थिए, उनीहरुले सकेनन्, तर हामीले सकेसम्म सेवा दियौं । बाटो थिएन, तर केही दिन हाम्रा कर्मचारी २/२ घण्टासम्म घूँडा–घूँडा हिलोमा डूब्दै पैदल हिँडेर ती ठाउँहरुमा पुगे र बैकिङ सेवामा जुटे । 

बैंकिङ क्षेत्रले के पाठ सिक्यो ?
बैंकहरुले लगानीको विविधिकरणमा विशेष ध्यान पुर्याउनुपर्ने रहेछ भन्ने पाठ सिकियो । हुन त राष्ट्रबैंकले समेत विविध क्षेत्रमा लगानी गर्नुपर्ने, लगानीलाई एउटै क्षेत्रमा केन्द्रीत गर्दा जोखिम हुने भनेर निश्चित व्यवस्था गरेको छ । त्यो व्यवस्थालाई बैंकहरुले कडाईपूर्वक पालना गरे यस्ता प्राकृतिक विपत्तिबाट कोल्याप्स नै हुने अवस्था चाहि नआउँदो रहेछ । हामी हरेक वर्षको बैंकको रणनीतिमा पनि यही कुरामा ध्यान राख्छौ । बजारको डिमाण्ड र सप्लाईको अवस्था के छ, हामी विचार गरेरै लगानी गर्ने गर्छौ । 

अर्को कुरा, बिमा भन्ने चिज गर्नु जरुरी रहेछ भन्ने पनि सिक्यौं । ‘एक्च्यूएल भ्यालू’ अनुसार बिमा गर्न जरुरी छ है भन्ने पनि पाठ सिकायो । कुनै पनि सम्पत्तिको मूल्य अनुसार बिमा नगर्दा धेरै क्लाइन्टलाई घाटा भयो । जस्तो २ करोडको सम्पत्ति छ, ७० लाखको लोन छ भने ७० को मात्र बिमा भयो, यसले त बैंकको लोन उठ्न गाह्रो परेन, तर क्लाइन्टलाई त गाह्रो भयो नि । १०–१२ हजार बढी प्रिमियम तिर्नुपर्ने लोभले फूल भ्यालू अनुसारको बिमा नगर्दा भूकम्प जस्ता प्राकृतिक बिपत्तिबाट पुग्ने क्षति कभर हुन नसक्ने रहेछ भनेर धेरैलाई अनुभूत भएको छ । यही कारण अहिले हामीले बैंकमा निकै कडाईपूर्वक बिमा चाहि फूल भ्यालू हुनुपर्छ भनिरहेका छौ, सोही अनुसार काम पनि भइरहेको छ ।  

अर्थतन्त्रलाई के पाठ सिकायो ?
भूकम्पको प्रभाव चौतर्फी पर्यो, तर हामी समस्याबाट छिट्टै बाहिर निस्कियौं पनि । सेवा क्षेत्र बाहेक अरुमा त्यति धेरै प्रभाव परेन । जुन हिसाबले केही समयपछि नाकाबन्दी भयो, त्यसले भूकम्पले जति भन्दा धेरै ठूलो क्षति पुर्यायो अर्थतन्त्रमा । तर भूकम्पले समेत आत्मनिर्भर अर्थतन्त्र हुँदा यस्ता विपत्तिबाट रिकभर हुन सजिलै सकिने रहेछ भन्ने पाठ सिकाएको छ । 

अर्कोतर्फ भूकम्पका कारण हाम्रो देशको राजनीतिक प्रणाली कति कमजोर रहेछ भन्ने पनि देखियो । राजनीतिक प्रणाली बलियो नहुँदा, दलहरु स्वार्थी हुँदा आज भूकम्पपीडित महिनौसम्म पनि घरबारविहीन भएर टहरामा बसिरहनु परेको छ । जाडो आयो, गयो, बर्षा आउँदैछ । सरकारले दिने भनेको २ लाख रुपैयाँ समेत दिन सकेको छैन । बैकिङ क्षेत्र र पुननिर्माण प्राधिकरणबीच तालमेल हुन सकिरहेको छैन ।  गाउँघरमा निकै ठूलो समस्या छ । वर्षाअघि एउटा छाप्रो मात्र भए पनि पूरा गर्ने भूकम्पपीडितको जुन धोको थियो, त्यो पूरा हुन सकिरहेको छैन । कम्तीमा सरकार चलाउनेहरु कतिसम्म जनउत्तरदायी बन्नुपर्ने रहेछ भन्ने पाठ समेत भूकम्पले सिकाइदिएको छ ।