काठमाण्डौ । निजी क्षेत्रको स्वास्थ्य संस्थामा देशकै टप नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै ३ सय बेडको सेवा सुचारु गर्ने भएको छ । 

नर्भिक इन्टरनेशनलले बुधबार एक पत्रकार सम्मेलन गरी विगत २२ वर्षदेखिको जनविश्वासलाई थप मजबुत बनाउन निकट भविष्यमै ३ सय बेडको सेवा सुचारु गर्न लागिएको र अन्य आधुनिक सेवाहरु पनि थपिइने प्रष्ट पारेको हो । 

हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हाल १५० बेडको अस्पताल निकट भविष्यमै बिस्तार भई ३ सय बेडको हुने प्रष्ट्याए । यस्तै, निकट भविष्यमै नयाँ अटोमेटिक एक्स रे मेसिन र एमआरआई मेसिन समेत भित्र्याउन लागिएको जानकारी दिए । ‘५–६ महिनादेखि हामीले देशमै पहिलोपटक एनएबिसी सर्टिफाइड अत्याधुनिक प्याथोलोजी समेत संचालन गरेका छौ ।’ उनले भने–‘सबै खालको उत्कृष्ट उपचार नर्भिकमै हुनुपर्छ र जनताले सबै रोगसँग सम्बद्ध गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले हामी आफूलाई परिमार्जित गरिरहेका छौ ।’ 

उनका अनुसार हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा सेवा, सुविधाको आधारमा दैनिक न्यूनतम १६ सयदेखि ४० हजार रुपैयासम्म मूूल्य पर्ने शैयाहरु उपलब्ध छन् । बिरामीको छनौट अनुसारको शैया उपलब्ध गराउन हस्पिटल तयार रहेको उनले जानकारी दिए । सरकारको नीति अनुसार कुल शैयाको १० प्रतिशत निःशुल्क शैया पनि उपलब्ध रहेको छ । 

गलत खबरको खण्डन
यसैबीच, सोही अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले जाजरकोटका ४० वर्षीय देवबहादुर सिंह ठकुरीको उपचारमा कुनै कमजोरी नभएको र हुँदै नभएको कुरालाई ठूलो इस्यूू बनाइएको भन्दै आपत्ति जनाएको छ । ठकुरीको गत कात्तिक १५ गतेदेखि नर्भिकमा उपचार भइरहेको छ । पत्रकार सम्मेलनमा उपस्थित बिरामीका आफन्तहरुले समेत उपचार सेवा राम्रै भए पनि एक चिकित्सकसँगको सामान्य भनाभनलाई ठूलो बिषय बनाइएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘नर्भिकको सेवाको बिषयमा हामीले कुनै गुनासो गरेका छैनौ ।’ बिरामीकी पत्नी प्रतिमा सिंहले पत्रकार सम्मेलनमा भनिन्–‘हाम्रो बिरामीको अवस्था सुधार हुँदै गएको छ, खुट्टाको डरलाग्दो घाउको पानी सुुक्दै गएको छ । तपाईहरुले पनि बरु मेरो पतिको शीघ्र स्वास्थ्य लाभको कामना गरिदिनुहोला ।’ 

पत्रकार सम्मेलनमा उपस्थित डा.प्रवीण नेपालले बिरामीका आफन्तले कहिलेकाही मेडिकल भाषा नबुुझ्दा समस्या आउने गरेको भन्दै संवेदनशील बिषयमा संचारमाध्यमहरुले समेत कुराको गहिराईमा पुुगेर समाचार प्रकाशन गरिदिनुपर्नेमा जोड दिए । ठकुरीको स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गर्दै उनले एउटा तिघ्राबाट काटिएको मासुु(छाला) अर्कोमा टाँसिएकाले झट्ट देख्नेले घाउ भयावह देखे पनि यो उपचारको एउटा पद्धति भएको प्रष्ट्याए । ‘उहाँलाई निको पारेर पठाउने काम हाम्रो हो ।’–उनले थपे ।