काठमाण्डौ । नेपाल सरकारद्वारा नवनियुक्त महावाणिज्यदूतहरुसँग नेपाल चेम्बर अफ कमर्सका अधिकारीहरुले सोमबार मुलुकको आर्थिक क्रियाकलाप लगायतका विषयमा छलफल गरेका छन् । 

महावाणिज्यदूतहरु एकनारायण अर्याल, गोविन्द कार्की, कमल भट्टराईसँग चेम्बरका पदाधिकारीले कान्तिपथस्थित चेम्बर भवनमा विविध विषयमा छलफल गरेका हुन् । 

भारत कोलकाताका लागि महावाणिज्य राजदूत एक नारायण अर्याल, ल्हासाका लागि गोविन्द कार्की र हङकङका लागि कमल भट्टराईलाई चेम्वरमा स्वागत गर्दै अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको विकासमा आर्थिक कुटनीतिको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए । 

श्रेष्ठले नेपालको प्रमुख नाका कोलकातामा सामान आयात निर्यात गर्न रहेको झञ्झटिलो प्रक्रियालाई सरलीकरण गर्न आवश्यक रहको बताउंदै निजी क्षेत्र लगायत सरोकारवाला निकायहरुलाई साथमा लिएर काम गर्न अनुरोध गरेका थिए । यसैगरी, ल्हासा भन्सारमा गत बैशाखको भूकम्पदेखि नेपाली सामानहरु छुटाउन नसकिएको तर्फ ध्यानाकृष्ठ गराउंदै रिरुटिङ लगायतको आवश्यक कार्य गर्नु पर्नेमा उनको जोड थियो । श्रेष्ठले हङकङसंगको व्यवसायमा भिसा प्रक्रियालाई सरलीकरण गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए । 

अध्यक्ष श्रेष्ठले आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन महावाणिज्यदूतको कार्यालयमा सूचना कक्ष स्थापना गर्नु पर्ने तथा व्यवसायिक प्रतिनिधिमण्डलहरुको आदानप्रदानमा जोड दिनुपर्ने बताएका थिए । 

नवनियुक्त महावाणिज्यदूतहरुले नेपाल सरकारको नीति तथा कार्यक्रम लागू गर्न आफ्नो प्रमुख कर्तव्य रहेको बताउंदै आर्थिक कुटनीतिको माध्यमबाट मुलुकको आर्थिक विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले निजी क्षेत्रसंगको छलफल तथा अन्तरक्रियाले आफ्नो कार्यसम्पादनमा सहजता आउने बताउंदै निजी क्षेत्रका समस्या समाधान गर्न आफूहरु सधैं तयार रहेको बताएका थिए ।