काठमाण्डौ । बेलैमा जहाज नउडाउने, बाहानाबाजी गर्ने, अन्य पाइलटलाई धम्क्याउने लगायतका अभियोगमा नेपाल वायु सेवा निगमले चिनिया विमान वाई १२ ई उडाउने दुई जना क्याप्टेनलाई सजाय स्वरुप ग्राउन्डेड (निलम्बन) गरिदिएको छ ।

निगम स्रोतका अनुसार, वाई १२ ई का वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र क्याप्टेन सञ्यय बादे श्रेष्ठलाई निगमले अर्को निर्णय नहुन्जेल सम्मका लागि ग्राउन्डेड गरेको हो । हाल यो वर्गका दुइटा विमान उडाउन चार क्याप्टेनसहित ११ जना पाइलट छन् । यीमध्ये भट्टराई वरिष्ठ क्याप्टेन हुन भने श्रेष्ठ क्याप्टेन हुन् । यी दुवैलाई कारवाही गरिएपछि अहिले एक्ला क्याप्टेन उद्धव घिमिरेको कमाण्डमा यो जहाजले काठमाडौं–पोखरा–काठमाडौं र काठमाडौं–भैरहवा–काठमाडौं जहाज उडाइरहेका छन् ।

कारवाही स्वरुप ग्राउन्डेड गरिएका क्याप्टेन भट्टराई र श्रेष्ठलाई निगमले व्यवसायिक अनुशासन उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ । ‘निजी एयरलाइन्सलाई फाइदा पुग्नेगरी निगमको जहाज नउडाइदिने, जहाज बिगार्ने, उडानमा जाने पाइलटलाई धम्क्याउने, अपरेशन विभाग प्रमुख रविन्द्र शेरचनलाई असभ्य गालीगलौच र जाइलागेको लगायतका आरोप छन,’ निगमको उच्च स्रोतले भन्यो ।

दुईमध्ये अलि गम्भीर अभियोग भट्टराईलाई लगाइएको छ । उनलाई निगमले निस्कासन नै गर्ने तयारी गरेको छ । ‘निगमका महाप्रवन्धक सुगतरत्न कशांकारले कम्पनीको हितविपरित काम गर्ने पाइलट, इन्जिनियर लगायतका कुनै पनि तहका कर्मचारीले गल्ती गरे अपराधसरह ठानिने भन्दै जागिरबाटै निस्काशन गर्ने निर्देशन दिनुभएको छ,’ निगमका एक निर्देशकले भने । यी दुईजनाबारे निगमले आन्तरिक रुपमा छानविन गरीरहेको छ । छानविन नसकिएसम्म ग्राउन्डेड गरिएको छ । अर्थात यी दुवैलाई नसियतका रुपमा डेढ महिनादेखी विमान उडाउन दिइएको छैन । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।