काठमाण्डौ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघकै इतिहासमा पहिलोपटक नेतृत्वमा महिला पुग्ने सुनिश्चित भएको छ । 

कात्तिक ४ गते बिहीबार काठमाण्डौका आर्मी अफिसर्स क्लबमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानलाई पारित गरेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी चैत २६ पछि महासंघ नेतृत्वमा पुग्ने निश्चित भएको हो । 

राज्यलाई सबैभन्दा बढी कर तिर्ने टप कम्पनीको सूचिमा रहेको नेपाल टेलिकमको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा पुरुष दाबेदारलाई हराएर कामिनी राजभण्डारीले बाजी मारेको केही साता नबित्दै निजी क्षेत्रमा समेत महिलाको नेतृत्व सुनिश्चित बन्ने रमाइलो संयोग जुरेको हो । 

नेपालमा हाल राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता राज्यका मुख्य पदहरुमा समेत महिला नै आसीन छन् । 

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाबाट विधान संसोधनको प्रस्ताव सर्वसम्मतिले पारित भएको अध्यक्ष पशुपति मुरारकाले बताए । विधान संसोधन प्रस्तावमा महासंघलाई संघीय ढाँचा अनुसार पुनरसंरचना लगायत वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान समेत राखिएको थियो । 

विधान संसोधनपछि अब महासंघको संगठनात्मक संरचना पनि संघीय स्वरुपमा रुपान्तरित भएको छ । विधानमा प्रदेश प्रमुखको व्यवस्था गरिएको छ । अब सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले नै प्रदेश प्रमुख चयन गर्न पाउनेछन् । यसअघिको विधानमा भएको अञ्चल प्रतिनिधि, क्षेत्रीय सदस्य लगायतको व्यवस्था नयाँ विधान पारित भएसँगै खारेजीमा परेको छ । ७१ सदस्यीय कार्यकारिणी समिति बन्ने र निर्वाचित सदस्यमध्येबाट एकजनालाई कोषाध्यक्ष समेत बनाइने नयाँ विधानले व्यवस्था गरेको छ । 

.....तर विभाजनको विजारोपण
विशेष साधारणसभाबाट विधान पास भए पनि महासंघमा यो घटनासँगै विभाजनको रेखा कोरिएको छ । विशेष साधारणसभाका एजेण्डाप्रति असहमति राख्ने एउटा ठूलो समूहले आगामी नेतृत्वलाई सधैं असहयोग गर्ने र यसले निजी क्षेत्रको छाता संगठनमा फूटसम्म आउनसक्ने संभावनाहरु केलाउन थालिएको छ । 

यसअघि विशेष साधारणसभा रोक्न माग गर्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य गोविन्द घिमिरेले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले रिटको पक्षमा एकदिने अन्तरिम आदेश दिए पनि बुधबार भने रिट नै खारेज गरी विशेष महाधिवेशनका लागि बाटो सहज बनाइदिएको थियो । अदालतले बाटो खोलिदिए पनि रिट खारेजीपछि महासंघको एकता भने भाँडिएको एक कार्यकारिणी सदस्यले बताए । 

‘निजी क्षेत्रको हितसम्बन्धी कतिपय मुद्धामा महासंघको सबै पक्ष एकमत भएर अगाडि बढ्नुपर्नेमा आगामी दिन टुटफूटमै अल्झिने खतरा बढ्यो ।’ ती सदस्यले बिजशालासँग भने–‘महासंघको वर्तमान नेतृत्वले निषेधको नियमलाई निरन्तरता दियो भने निकै ठूलो फूट आउनसक्ने संभावना देखियो ।’ 

विशेष साधारणसभामा वर्तमान कार्यकारिणी समितिले आनन्दराज मुल्मी, कुशकुमार जोशी, सुरज वैद्य, महेशलाल प्रधान लगायत ६ पूर्व अध्यक्षहरुलाई पूरै बेवास्ता गरेको थियो । वर्तमान समितिको बेवास्ताकै कारण उनीहरुले बुधबार साँझ अध्यक्ष पशुपति मुरारकालाई पत्र नै लेखेर विशेष साधारणसभा बहिस्कारको निर्णय गरिएको जानकारी दिएका थिए । पूर्व अध्यक्षहरुको भूमिका विशेष साधारणसभामा खासै नभए पनि ६ जनाले सामूहिक बहिस्कार गर्दा कार्यकारिणी समितिलाई केही नैतिक संकट चाहि परेको थियो ।

तर, असन्तुष्टहरुलाई विशेष साधारणसभामा उपस्थित गराउने बिषयमा समेत कार्यकारिणी समितिले कुनै पहल नगरेको र पेलेरै विधान संसोधन  प्रस्ताव पारित गराएको भन्दै एउटा निकै बलियो समूह थप रुष्ट बन्न पुगेको छ । ‘यसले आगामी दिनमा महासंघको नेतृत्वमा आउनेहरुको बाटोलाई थप असहज बनाइदिएको छ ।’–अर्का एक सदस्यले भने । 

आर्मी अफिसर्स क्लबमा अधिकांश प्रतिनिधिहरुको मुहारमा विधान संसोधन प्रस्ताव पारित भएको खुशीभन्दा पनि महासंघमा फूटको औपचारिक सुरुवात भएकोमा निराशा देखिन्थ्यो । यो निराशाको समयमै व्यवस्थापन हुनुपर्नेमा अधिकांश  प्रतिनिधिहरुले जोड दिएका थिए । ‘अब महासंघलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्छ ।’ प्रतिनिधिहरुले भनेका छन्–‘यसका लागि वर्तमान नेतृत्वले विशेष पहल गर्न आवश्यक छ ।’ 

अबको आकर्षण-वरिष्ठ उपाध्यक्ष
महासंघको विधान संसोधन पारित भएसँगै नेतृत्वमा पुग्नका लागि अब सबैले वरिष्ठ उपाध्यक्षमा पुग्नुपर्ने हुन्छ । यसअघि निर्वाचित कार्यकारिणी सदस्यबीच वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने गर्दथ्यो । तर अब यसअघि अध्यक्षमा हुने चुनावजस्तै वरिष्ठ उपाध्यक्षका लागि चुनाव हुनेछ । यसको अर्थ यसअघि अध्यक्षका लागि हुने चुनावी दौड र प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षका लागि हुनेछ । 

आगामी चैतमा हुने महासंघको साधारणसभापछि अध्यक्षमा भवानी राणा स्वतः पुग्ने भएपछि अबको वरिष्ठ उपाध्यक्षमा को आउला भन्ने चर्चा समेत निजी क्षेत्रभित्र सुरु भइसकेको छ । हाल महासंघमा उपाध्यक्ष रहेकाहरुबीच वरिष्ठ उपाध्यक्षका लागि निकै दह्रो प्रतिस्पर्धा हुने देखिएको छ । शेखर गोल्छा, किशोर  प्रधान लगायतले वरिष्ठ उपाध्यक्षमा जितेर स्वतः अध्यक्ष बन्नका लागि अहिले देखि नै खुट्टा उचालेका छन् ।