काठमाण्डौ । तीन दशकको कठीन यात्रा पूरा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड(एनआइबिएल) तोकिएको सीमाभन्दा अगाडि नै तोकिएको चुक्तापूँजी पुर्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ । 

नेपाल राष्टबैंकले ०७४ असार मसान्तभित्र वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब हुनुपर्ने नीति लिएपछि सो लक्ष्य समयअघि नै हासिल गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको हो । 

सन् १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेण्ट बैंकल केही दिनअघि फाइनान्सियल टाइम्स लण्डनबाट पाँचौं पटक “बैंक अफ द इयरको अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो । 

तीन दशकको अवधिमा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई कायम राख्ने सफलता पाएको बैंकको दाबी छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित सञ्जालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा बैंकले रू. ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा रु २ अर्ब ५५ करोड रुपैयाँ थियो, जुन अघिल्लो आ.व भन्दा क्रमश ३२.६ र ३० प्रतिशतले बढी हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले रु १ अर्ब ५८ करोड खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्म चुक्ता पूँजी रू. ८ अर्ब ७१ करोड पुुगेको छ भने शेयरधनी कोष रु १८ अर्ब रुपैयाँभन्दा बढी भई निजी बैंकहरूमध्ये सर्वाधिक पूँजी भएको बैंक बनेको छ । 

बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सीमित गरेको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ ।