काठमाण्डौ । बुधबारको कारोबारले दिएको संकेत अनुसार नै पूँजीबजारमा बिहीबार निराशाको बादल छाएको छ । सबै समूह राताम्मे भई नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ । 

कारोबार रकमलाई बढाउन शिखर इन्स्योरेन्सले सहयोग गर्यो । यो कम्पनीले घोषणा गरेको ६० प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन भएकोले लगानीकर्ता यही कम्पनीमा झुम्मिए । 
नेप्से परिसूचक ९.२२ अंकले घटी १५४४.६८ अंकमा आइपुुगेको हो । बित्त बाहेक सबै समूहको सूचका रातो पोतिएको छ । 

वाणिज्य बैंक समूह ९.६३, होटल समूह २.५८, विकास बैंक समूह ५.२३, जलविद्युत समूह २६.७५, बिमा समूह ४५.१७ र अन्य समूह ६.९४ अंकले घटे । बित्त समूह चाहि ०.७ को झिनो अंकले मात्र उक्लियो । 

धेरै कारोबार गर्ने कम्पनी
घट्दो बजारमा १ सय ३४ कम्पनीको ७ लाख ३ हजार १ सय ६४ कित्ता सेयर ६० करोड २५ लाखमा किनबेच भयो । 

बिहीबार वाणिज्य बैंक समूहको कारोबार खस्कियो भने कारोबारमा बिमा समूहले नेतृत्व गर्यो । वाणिज्य बैंकहरुले १९ करोड ३२ लाखको मात्र कारोबार गर्दा बिमा समूहले २६ करोडको कारोबार गर्न सफल भयो । बिमा समूहलाई कारोबारमा बिहीबार अग्रणी बनाउन शिखर इन्स्योरेन्सको महत्वपूर्ण भूूमिका रह्यो । यो कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि आवेदन दिने अन्तिम दिन भएका कारण यसमा आकर्षण देखियो । शिखर इन्स्योरेन्सले मात्रै १६ करोड ५५ लाखको कारोबार गर्यो । 

शिखर इन्स्योरेन्सको साधारण सभाका लागि मंसिर २४ गते अर्थात भोलीदेखि पुस ८ गतेसम्मका लागि दर्ता पुस्तिका बन्द रहनेछ । यहीकारण समेत ६० प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन थियो । 

बिहीबार एभरेष्ट बैंकले ३ करोड ६६ लाख, छिमेक लघुवित्त विकास बैंकले ३ करोड २४ लाख, सिद्धार्थ बैंकले २ करोड ८३ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले १ करोड ३५ लाख, मेगा बैंकले १ करोड २४ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंकले, ४ स्थान बिमा कम्पनीले, एक स्थान लघुवित्त र एक स्थान फाइनान्सले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
बिहीबार पनि एनबी इन्स्योेरेन्सले पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । पोखरा फाइनान्सको सेयर मूल्य ७.५७ प्रतिशतले बढ्यो भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्यमा पनि ६.०५ प्रतिशतको बढोत्तरी भयो । 

सबैभन्दा धेरै गुुमाउनेमा अरुण फाइनान्स अगाडि देखियो । यो कम्पनीको सेयर मूल्य ८.४९ प्रतिशतले घट्यो । अपी पावरको सेयर मूल्य ५.७० र विजय लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४७ प्रतिशतले ओरालो लाग्यो ।