काठमाण्डौ । संचालक समिति र साधारणसभाबाट निर्णय अगावै नेप्सेमा सूचिकृत कम्पनीका पदाधिकारीले अन्तर्वार्ता र निजी विचारको नाममा संभावित निर्णयको बिषय सार्वजनिक गरे कारबाहीमा पर्ने भएका छन् ।

धितोपत्र बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक निर्णय अगावै आउने सूचनाले धितोपत्रको बजार मूल्य प्रभावित हुने र कतिपय अवस्थामा यस्तो प्रवृतिले लगानीकर्तालाई समेत जोखिममा पार्ने भन्दै आधिकारिक निर्णयअगावै महत्वपूर्ण सूचना सार्वजनिक गर्ने अधिकारी सम्बद्ध संस्थाको सेयर कारोबार रोक्का गरिने चेतावनी दिएको हो ।

‘सूचीकृत संगठित संस्थाहरुको धितोपत्र बजार मूल्यमा प्रभाव पर्ने कतिपय सूचनाहरु संचालक बोर्ड तथा साधारण सभा÷विशेष साधारण सभाबाट आधिकारिक निर्णय हुनुअगावै सम्बन्धित कम्पनीका अध्यक्ष÷संचालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका पदाधिकारीहरुबाट विभिन्न संचार माध्यमहरुमार्फत समय समयमा अन्तवार्ता तथा निजहरुका व्यक्त विचार भनी सम्प्रेषण हुने गरेको समाचारहरुको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘यसरी धितोपत्रको बजार मूल्यमा असर पर्न सक्ने विभिन्न जानकारी तथा सूचनाहरु संचालक बोर्ड तथा साधारण सभा÷विशेष साधारण सभाको निर्णय अगावै प्रेषित हुँदा यस्ता निर्णय र जानकारीको आधारमा प्रत्यक्ष वा परोक्ष रुपमा लगानीकर्ताहरु प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्ने र जसको कारणले कतिपय अवस्थामा लगानीकर्ताहरुले नोक्सानी समेत व्यहोर्नुपर्ने हुनाले यस्ता सूचना तथा जानकारीहरु सम्प्रेषण गर्दा आधिकारिक निर्णय भए पश्चात मात्र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र सार्वजनिक गर्ने व्यवस्था गर्न निर्देशन दिईएको छ ।’

यो निर्देशन पालना नभएमा सम्बद्ध कम्पनीको धितोपत्रको कारोबार रोक्का गर्ने लगायतका कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ ।