काठमाण्डौ । १९ वर्षदेखि आम प्रतिक्षाको बिषय बनेको र सर्वत्र स्वागत भएको स्थानीय निर्वाचनको विरोध गरेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल फूट्ने निश्चित भएको छ । 

बाबुरामको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै पार्टीभित्रको ठूलो समूहले देशभरबाट एकसाथ सामूहिक विद्रोहको तयारी थालेका हुन् । 

नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताको ठूलो पंक्तिले देशभरका जिल्लामा नयाँ शक्ति सामानान्तर पार्टी कमिटीको नामबाट विद्रोह गर्न लागेका स्रोतले बताएको छ । यसका लागि सबै जिल्लाहरुमा नयाँ शक्ति समानान्तर पार्टी कमिटी गठन भइसकेका छन् भने केन्द्रका समेत दर्जनौ नेता विद्रोहका लागि तयार भइसकेका छन् । 

नेताहरुले मुख्य रुपमा पार्टीको संगठनात्मक, वैचारिक कार्यशैलीप्रति तीव्र असन्तुुष्ट राख्दै आएका छन् । पछिल्लो समय रविन्द्र मिश्रको नेतृत्वमा वैकल्पिक शक्ति बन्ने ल्याकत देखिएपछि नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्तामा असन्तुष्टि अझ बढेको थियो । पार्टीभित्रको ठूलो पंक्ति स्थानीय निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा रहे पनि बाबुराम भट्टराईले भारतको इशारामा निर्वाचनको विरोध गरेको धेरैको बुुझाईले समेत विद्रोहको जग तयार गरेको एक नेताले बताएका छन् । 

''बाबुरामजीले पार्टीलाई पुरानै ढर्राबाट चलाउन खोजे, आफूलाई तानाशाही बनाए ।'' एक नेताले भने-''लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको समेत विरोध गरेपछि यो पार्टीमा बस्नुको औचित्य भएन । बाबुरामजीको भारतपरस्त शैलीले भोलि भड्खालोमा पर्ने निश्कर्षमा हामी पुुग्यौं ।'' 

नयाँ शक्ति नेपालका केन्द्रीय नेताहरुले बाबुरामले चुनाव भाँड्न प्रयोग भएर देशमा अराजकता र अन्यौलता फैलाउने गलत तत्वहरुलाई सहयोग गरिरहेका आरोप समेत लगाएका छन् । आफ्ना सन्तुुष्टि, पार्टीको गलत कार्यशैली र सिद्धान्तको बिषयमा आफूले पटक पटक संयोजक भट्टराईसँग असहमति राखे पनि उनले सच्चिनको साटो तानाशाहीतन्त्र लाद्न खोजेपछि पार्टी छाड्नुुको विकल्प नरहेको ती नेताले बताए । ती नेताका अनुसार २० प्रतिशत भन्दा बढी अन्तरिम सदस्यहरु विद्रोह गरी नयाँ पार्टीमा समाहित हुनेछन् । विद्रोहपछि बन्ने पार्टी आफैं चुनावमा सहभागी हुने वा कुनै विचार तथा सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरी चुनावमा जाने बाटो समेत खुल्लै राखिनेछ । 

संयोजक डा। बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्नु हुँदैन भनेर सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर प्रेस विज्ञप्ती जारी गरेपछि पार्टीमा विवाद बढेको थियो । यसअघि पनि बाबुरामसँग असहमति राख्दै ९ अन्तरिम परिषदका सदस्यले बाबुरामलाई ज्ञापनपत्र बुुझाएका थिए, तर सो बिषयमा बाबुरामले अहिलेसम्म कुनै सुनुवाई गरेनन् । 

एक अर्का नेताका अनुसार बाबुरामको नयाँ शक्ति नेपालबाट विद्रोह गरी गठन हुन लागेको नयाँ पार्टीका लागि काठमाण्डौमा आगामी फागुन २६ गते राष्ट्रिय भेला आयोजना हुनेछ । जिल्ला जिल्लाका नेता तथा कार्यकर्तालाई समेटेर शक्तिशाली पार्टी बनाइने विद्रोहको अगुवाई गरिरहेका नेताहरुले दाबी गरेका छन् ।