काठमाण्डौ । नेपाल चाइना चेम्बर अफ कमर्स इण्डष्ट्रिजका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चीनको डोङ्गुआन शहरमा गएको व्यापारिक प्रतिनिधि मण्डलले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड डोङ्गुआन सिटी कमिटी(सीसीपीआइटी)का अध्यक्ष जेङ मिन सेङसँग भेट गरी द्विपक्षीय आर्थिक तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल गरेको छ । 

सो क्रममा नेपाल र चीन बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाल–चीन उद्योग वाणिज्य संघ र सीसीपीआइटीबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । 

संघका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र सीसीपीआइटी डोङ्गुआनको तर्फबाट अध्यक्ष जेङ मिन सेङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्नेछन् । व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गरिने बताइएको छ । साथै आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागी हुन आपसमा सहयोग गर्नुपर्ने समेत समझदारी भएको छ । 

समझदारीपत्रका हस्ताक्षर गरेपछि संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–चीन बीचको सदियौं पुरानो सुमधुर सम्बन्धको चर्चा गर्दै संघ तथा डोङ्गुआन प्रान्त बीच विगत वर्षहरुदेखि नै सूचनाको आदान प्रदान भइरहेको तथा नेपाली व्यापारीहरुले व्यापारिक मेलाहरुमा भाग लिइरहेका बताए । संघ र डोङ्गुआन प्रान्त अन्तर्गत डोङ्गुआन सहर बीचको सम्बन्धलाई आर्थिक, व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग तथा लगानी बृद्धिमा विस्तार गर्दै जानुपर्नेमा श्रेष्ठले जोड दिएका थिए । उनले नेपालमा कृषि, खाद्यान्न तथा मासुजन्य उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका लागि समेत आह्वान गर्दै नेपालमा लगानी गर्न इच्छुक लगानीकर्तालाई संघले सक्दो सहयोग गर्ने बताए । 

सीसीपीआइटी डोङ्गुआनको तर्फबाट अध्यक्ष जेङ मिन सेङले औद्योगिक तथा अत्याधुनिक शहर भए पनि नेपाली व्यवसायीसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण मौका पाएकोमा आभार व्यक्त गरे ।  नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग गर्ने तथा लगानी विस्तार अध्ययनका लागि भविष्यमा नेपाल भ्रमण गर्ने पनि उनले प्रतिबद्धता जनाए ।