काठमाण्डौ । नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले नेपालको जलविद्युत, पूर्वाधार र पर्यटन उद्योगमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताएकी छिन् ।

आर्थिक कुटनीतिमार्फत दुई देशबीच लगानी, व्यापार र पर्यटन विस्तारमा जोड दिनुपर्ने बताउँदै उनले आफ्ना देशका लगानीकर्तालाई आगामी दिनमा नेपालमा लगानी बिस्तारका लागि ल्याउने आफ्नो प्रयास रहने वचन समेत दिइन् ।

राजदुत पेरेराले मङगलबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटको क्रममा सो कुरा बताएकी हुन् । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल दुई देश बीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको विशेष अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम र आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा केन्द्रीत रहेको परिसंघले जनाएको छ । 

राजदूत पेरेराले सो अवसरमा श्रीलंकाका केही क्षेत्रमा नेपाली उद्यमीको लगानी भए पनि नेपालमा श्रीलंकन लगानी खासै विस्तार हुन नसकेको बताइन् । भगवान बुद्धको जन्मभुमी नेपाल श्रीलंकाका लागि अहम् आस्थाको केन्द्र भएकाले दुई देशबीच सिधा हवाई सम्पर्क विस्तार महत्वपूर्ण हुने उनले बताईन् । 

परिसंघका अध्यक्ष हरिभक्त शर्माले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध सदिऔं पुरानो भएकाले यसलाई बदलिदो परिस्थितिमा सरकारका साथै निजी क्षेत्रको पहलमा नयाँ उचाईमा पुर्याउनुपर्ने बताए । श्रीलंका र नेपाल राजनीतिक अस्थिरता र आन्तरिक द्धन्द्ध व्यवस्थापनमार्फत आर्थिक रुपान्तरणको दिशामा अगाडि बढेकाले दुबैलाई अस्थिरताको लागत र आर्थिक संमृद्धिको महत्व राम्रोसँग थाहा भएको शर्माको भनाई थियो । ‘द्धन्द्ध व्यवस्थापनमार्फत शान्ती स्थापनापछि उच्च आर्थिक वृद्धिसहित समृद्धि हासिल गरिरहेको श्रीलंकाबाट नेपालले सिक्नु पर्छ,’ शर्माले भने ।

परिसंघको राष्ट्रिय परिषद सदस्य तथा ऊर्जा विकास परिषदका संयोजक गुरु प्रसाद न्यौपानेले राजदूतावासको पहलमा श्रीलंका र नेपाली व्यवसायीहरुका प्रतिनीधि मण्डल आदान प्रदान गर्न परिसंघ इच्छुक रहेको बताए । परिसंघले आगामी फागुनमा आयोजना गर्न गइरहेको पूर्वाधार शिखर सम्मेलन २०१७ श्रीलंकाबाट उच्चस्तरीय प्रतिनिधि मण्डल ल्याउन दूूतावासले समन्वय गर्न सक्ने धारणा राखे ।