तेस्रो देशमा वस्तु आयातनिर्यातका लागि मूलत: भारतमा आश्रित नेपालका लागि नयां विकल्प दिने पारवहन सम्झौतासहितका १० वटा सम्झौता तथा समझदारीपत्रमा सोमबार नेपाल र चीनबीच हस्ताक्षर भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली खछ्यांग नेतृत्वमा दुईपक्षीय औपचारिक वार्तापछि भएका सम्झौता तथा समझदारीमा खुला व्यापार क्षेत्रको सम्भाव्यता अध्ययनदेखि लिएर नेपालमा तेल तथा ग्यासको अन्वेषणसम्मका विषय समावेश छन्।

व्यापारिक तवरले चीनबाट इन्धन खरिद गर्ने भनी यसअघि बहुप्रचारित सम्झौता नभएपनि त्यसलाई तीव्रता दिन दुवै पक्ष तयार भएको अधिकारीहरुले बताएका छन्।

व्यस्तता

चिनियाँ संसद भवन ग्रेट हल अफ द पिपलमा सम्मान गारद ग्रहण गर्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो भ्रमणको सबैभन्दा महत्वपूर्ण दिनको औपचारिक कार्यसूची प्रारम्भ गरेका थिए।

लगत्तै प्रधानमन्त्रीस्तरमा दुई पक्षीय वार्ता भयो जसमा १० वटा सम्झौतासमझदारीले आकार ग्रहण त गरे तरसंगसंगै नेपालमा रेलसेवा विस्तार, जलविद्युत विकास, अन्तरदेशीय प्रसारण लाइन निर्माण, अवरुद्ध तातोपानी नाका खोल्ने लगायतका विषयले प्रवेश पाए।

 

Image copyrightReuters

ती सबैमा सकरात्मक रहेको बताइएको चिनियां पक्षले सोमबारको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक विषयलाई पनि छोएको थियो।

चिनियाँ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयको एसिया विभागकी सहायक निर्देशक हो यन्सीले भनिन्,“प्रधानमन्त्री ली खछ्यांगले नेपाली पक्षले संविधान निर्माण र राष्ट्रिय स्थायित्व राख्न चालेको कदमको प्रशंसा गर्नुभएको छ।

"चीनले नेपाललाई सधै आर्थिक रुपमा समृद्ध, स्थायित्व र सामाजिक एकतासहितको मुलुक भएको हेर्न चाहन्छ”।

उचाइ

सम्मान गारददेखि लिएर हस्ताक्षर कार्यक्रमसम्म संगै सहभागी हुंदा चिनियाँ समकक्षी लीसंग संवादमा तल्लीन देखिएका ओलीले जवाफमा नेपालको एक चीन नीतिमा जोड दिएका थिए।

उनी त्यो औपचारिकतामा मात्रै सीमित देखिएनन्, चीनसंगको सम्बन्धमा नयां अध्याय कोर्न आफू बेइजिंग आएको भनी विश्वस्त तुल्याउने कोसिस पनि गरे।

सोमबारै ग्रेट हल अफ द पिपलमा चिनियां राष्ट्रपति सी जिंगपिंगसंगको भेटमा उनले भने, “हाम्रो दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विशेष उद्देश्यसहित म यहां आएको छु।

"समानता र आपसी फाइदाका आधारमा दुई पक्षीय सम्बन्धलाई नयां उचाइमा पुर्याउन प्रतिवद्ध छौ।”

ओलीले संकेत गरेको त्यस्तो उचाइमा पुर्याउन पारवहन लगायत सोमबार भएका सम्झौताले बल दिने अपेक्षा सरकारी अधिकारीहरुमा देखिएपनि बहुचर्चित इन्धन खरिदको विषय-- तेल तथा ग्याससहितमा उर्जा सहकार्य गर्न संयुक्त संयन्त्र बनाउने र खरिद प्रक्रियालाई तीव्रता दिने भन्ने औपचारिकतामै सीमित भएपछि कतिपय नेपाली खिन्न भएको प्रतीत हुन्छ।

 

Image copyrightMahesh Acharya BBC

१० वटा सम्झौता/समझदारीपत्रमा के-के छन्?

१. पारवहन सम्झौता

२. हुम्लास्थित हिल्सामा सीमा नदीमाथि पुल निर्माण गर्ने, त्यसको व्यवस्थापन र मर्मतसम्भारसम्बन्धी सम्झौता

३. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना कार्यान्वयनका लागि आर्थिक र प्राविधिक सहकार्य सम्झौता

४. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना कार्यान्वयनका लागि मिश्रित ऋणको प्रावधानसहितको खाका सम्झौता

५. नेपालमा तेल र ग्यासको खोजीमा चिनियाँ सहयोगसम्बन्धमा सम्भाव्यता अध्ययनको सुरुवातका लागि पत्र आदानप्रदान

६. जलवायु परिवर्तनलाई सम्बोधन गर्ने वस्तुको व्यवस्थासम्बन्धी समझदारीपत्र

७. बौद्धिक सम्पत्ति प्रणाली सुदृढ पार्नेसम्बन्धी समझदारीपत्र

८. खुला व्यापार क्षेत्रको सम्भाव्यता अध्ययनसम्बन्धमा संयुक्त अध्ययन थाल्नेबारेको समझदारीपत्र

९. चीनको ब्यांकिग नियमन आयोग र नेपाल राष्ट्र ब्यांकबीच समझदारीपत्र

१०. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौता

बीबीसी नेपाली सेवाबाट