काठमाण्डौ । नेपाली जुत्ता घरको आयोजनामा ‘फुटवेयर विजनेश एक्स्पो २०१७’ बिहीबारदेखि काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा शुरु भएको छ ।

मेलाको समुद्घाटन मन्त्री गगन कुमार थापाले एक समारोहका बीच गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले कच्चा पदार्थ निर्यात एवम् उत्पादनको क्षेत्रमा सरकारले सहयोग गरे फूटवेयर उद्योगले फड्को मार्ने र सो बाट राज्यले समेत ठूलो राजश्व आर्जन गर्नसक्ने बताए । उनले आफू स्वास्थ्यमन्त्री भए पनि छालाजुत्ताजन्य उद्योगको प्रवद्र्धनका लागि सरकार र विभागीय मन्त्रीसम्म कुरा लगिदिने वचन समेत दिए । 

सो क्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरीय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयका लागि बिशेष छुट र सहुलियत सहित बिक्रीवितरण गर्ने गरिएको र यसले नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुुग्ने विश्वास व्यक्त गरे । 

सो कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक होमनाथ उपाध्यायले फुटवयर सेक्टरको वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए । 

मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् । यो एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्री गर्ने आयोजकको लक्ष्य छ ।