काठमाण्डौ । सर्वाधिक चर्चाको शिखरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन परेको छ । 

देशभरका संकलन केन्द्रबाट २१ हजार बढीले पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका एक अधिकारीले जानकारी दिए । उनका अनुसार यो अनुमानित तथ्यांक मात्र हो, देशभरका सबै संकलन केन्द्रबाट तथ्यांक संकलन गर्दा पहिलो दिनको यो तथ्यांक केही बढी हुनसक्छ । 

प्रति कित्ता १ सय रुपैयाँमा १ हजार ३ सय २५ प्रिमियम थपेर प्रतिकित्ता १४२५ रुपैयाँमा एफपीओ भर्न पाउने गरी बुधबारदेखि आवेदन खुलाइएको हो । कुल ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ खुलाइएको र कुल ४ अर्ब ४१ करोडको प्रस्ताव माग गरिएको छ । एफपीओमा माघ २ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था समेत मिलाइको र सो अवधिसम्म पनि माग अनुसारको प्रस्ताव नपरे आवेदन दिने अधिकतम मिति भनी माघ १२ लाई तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार ९ सय ६० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

सिद्धार्थ क्यापिटल लिमीटेडले नेपाल लाइफको एफपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्दैछ । बिक्री प्रबन्धकका अनुसार लगानीकर्ताले यो एफपीओमा आस्वा सिस्टम अन्तर्गत आवेदन दिन पाउने छैनन् । 

यो बिमा कम्पनीको हाल चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुग्नेछ भने सञ्चिती बढेर ४ अर्ब १ करोडको हुनेछ । एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने ३० करोड ९६ लाख चुक्तापुँजीको रुपमा थप हुनेछ भने प्रिमियमबाट संकलन भएको ४ अर्ब १० करोड रकम सञ्चितीमा जम्मा हुनेछ ।

नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा कमाएको थियो । 

कहाँ कहाँबाट भर्ने आवेदन ?
एफपिओमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका देशभरका शाखा तथा केही एक्सटेन्स काउण्टरहरु, लक्ष्मी क्यापिटल, एनआईबिएल क्यापिटल, कृति क्यापिटल, काठमाडौँ क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र यती डेभलपमेन्ट बैंकलगायत बाट आवेदन दिन सकिनेछ ।