काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ भर्न लगानीकर्ताहरुबीच दौडधूप चल्दा यसको असर दोश्रो बजारमा देखिएको छ । यही कारण साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकम भने घटेको छ । 

बिहीबार नेप्से परिसूचक ३.३५ अंकले वृद्धि भई १४७९.८६ अंकको उचाईमा पुुगेको छ भने १२० कम्पनीका २६ लाख ७७ हजार १३ कित्ता सेयर ३२ करोड २७ लाख रुपैयाँमा किनबेच भएको छ ।

यो दिन होटल र अन्य समूह बाहेक सबैको सूचक हरियो भएका छन् । वाणिज्य बैंक समूह ५.९३ अंकले बढेको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः ०.०७ र ०.९७ अंकको झिनो वृद्धि देखिएको छ । बिमा समूह ९.२३ अंक र जलविद्युत समूह ९.९२ अंकले बढेका छन् । होटल समूहमा ३०.९ अंकको पहिरो जाँदा अन्य समूह २.३२ अंकले घटेको छ । 

बिहीबार सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः ०.९२ र ०.२९ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
कुल कारोबारमध्ये वाणिज्य बैंकहरुले १५ करोडको हाराहारीमा कारोबार गरे । बिमा कम्पनीले ६करोड ६१ लाख र विकास बैंकहरुले २ करोड १८ लाखको मात्र कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा धेरै कारोबार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ ले गर्यो । यो म्युुचुुअल फण्डको ४ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भयो । यस्तै, बोनस सेयर दिने घोषणा गरेको लक्ष्मी बैंकमा समेत लगानीकर्ताको आकर्षण देखियो । यो बैंकको ३ करोड ७९ लाख मूल्यको सेयर किनबेच भयो । सिद्धार्थ बैंकले १ करोड ८० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६७ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र एकस्था म्युुचुुअल फण्डले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
बिहीबार खानीखोला हाइडोपावर कम्पनीले पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकको सेयर मूल्य पनि क्रमशः ८.३३ र ८.२३ प्रतिशतले वृद्धि भयो । 

कर्णाली विकास बैंकका लगानीकर्ताले बिहीबार सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले घट्यो । मञ्जुुश्री फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।