काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा तेश्रो दिनसम्म साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ । 

देशभरका संकलन केन्द्रबाट १ लाख २ हजार आवेदनबाट १५ अर्ब ५० करोड बढीको प्रस्ताव परेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पुस २७ गतेदेखि खुलेको आवेदनमा तेश्रो दिन अर्थात पुस २९ गते(शुक्रबार) मात्रै ४६ हजार आवेदकबाट साढे ७ अर्ब बढीको प्रस्ताव परेको छ । 

माघ २ गते(आज) नेपाल लाइफको एफपीओमा आवेदन दिने अन्तिम दिन हो । तेश्रो दिनसम्म माग गरिएको भन्दा साढे ३ गुणा बढी आवेदन परेकोमा अन्तिम दिनसम्म गरी करिब ५ गुणा बढीको आवेदन आउनसक्ने विश्लेषण गरिएको छ । 

एफपीओमा बिहीबारसम्म देशभरका संकलन केन्द्रमा कुल ५६ हजार आवेदनबाट ७ अर्ब ८४ करोड बढीको आवेदन परेको थियो । दोश्रो दिन बिहीबार मात्रै एफपीओमा ४ अर्ब ६६ करोड बढीको प्रस्ताव परेको थियो । पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन परेको थियो । 

प्रति कित्ता १ सय रुपैयाँमा १ हजार ३ सय २५ प्रिमियम थपेर प्रतिकित्ता १४२५ रुपैयाँमा एफपीओ भर्न पाउने गरी बुधबारदेखि आवेदन खुलाइएको हो । कुल ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ खुलाइएको र कुल ४ अर्ब ४१ करोडको प्रस्ताव माग गरिएको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार ९ सय ६० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बिमा कम्पनीको हाल चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुग्नेछ भने सञ्चिती बढेर ४ अर्ब १ करोडको हुनेछ । एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने ३० करोड ९६ लाख चुक्तापुँजीको रुपमा थप हुनेछ भने प्रिमियमबाट संकलन भएको ४ अर्ब १० करोड रकम सञ्चितीमा जम्मा हुनेछ।

नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गरेको थियो ।