काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ३० लाख ९६ हजार कित्ता एफपीओको बाँडफाँड शुक्रबार बिहान गरेको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले काठमाण्डौको नक्सालस्थित स्टार भेन्यूमा बिहान ८ः३० बजे एफपीओको अन्तिम बाँडफाँडको काम टुंग्याएको हो । 

साना लगानीकर्ता, जसले  १० कित्तादेखि ३० कित्तासम्मका लागि आवेदन दिएका थिए, उनीहरुका लागि २३.२२ प्रतिशत छुट्याइएको छ । तर १० कित्ता भन्दा थोरैको दरले आवेदन दिएकाहरुको हकमा भने चिठ्ठा प्रणालीको साहारा लिइएको थियो । 

त्यसपछि १६० कित्तासम्म आवेदन दिनेको हकमा चिठ्ठा प्रणालीबाट १० कित्ताको दरले एफपीओको बाँडफाडँ गरिएको छ । न्यूनतम १७० कित्ता र त्यसभन्दा बढीको आवेदन दिएकाहरुले न्यूनतम १० कित्ता पाएका छन् । उनीहरुका लागि समानुपातिक रुपमा वितरण गर्ने गरी ५.६३ प्रतिशत छुट्याइएको थियो । 

तर, जसले ३० हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएको थियो, उसको भागमा भने १७४१ कित्ता सेयर परेको छ । २ लाख ५५ हजार ५३ आधिकारिक आवेदकमध्ये १ लाख ६५ हजार ५ सय ६४ जनाले मात्र नेपाल लाइफको एफपीओ पाएका छन् । १६२ जनाको आवेदन विविध कारणले रद्ध गरिएको थियो । 

१० देखि ३० कित्तासम्म आवेदन दिने लगानीकर्ताका लागि छुट्याइएको कोटामा ४.३१ गुणा बढी आवेदन परेको थियो । यस्तै, ४० देखि ३० हजार ९ सय ६० कित्तासम्मको वर्गमा १७.७८ गुणा बढी आवेदन परेको थियो । 

नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ४१ करोड मूल्यको कुल ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओका लागि आवेदन मागेको थियो । यो कम्पनीले पुस २७ देखि माघ २ गतेसम्ममा प्रिमियम मूल्यसहित प्रति कित्ता १४२५ रुपैयाँको दरले एफपीओमा आवेदन आह्वान गरेको थियो । 

नेपाल लाइफले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १५ करोड ३० लाख खूद नाफा आर्जन गरेको छ । एफपीओ पूँजीकृत भएपछि यसको चुक्तापूँजी बढेर २ अर्ब ४७ करोडको उचाईमा पुुग्नेछ भने रिजर्ब बढेर ४ अर्ब १ करोडको उचाईमा पुुग्नेछ । एफपीओपछि कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ७०ः३० मा रुपान्तरण हुनेछ । 

नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयरको समेत प्रस्ताव गरेको छ । एफपीओ प्राप्त गरेकाहरु समेत बोनस सेयरका लागि योग्य हुनेछन् । बोनस सेयर समेत जारी भएपछि नेपाल लाइफको चुक्तापुँजी ३ अर्ब १ करोडको उचाईमा पुुग्ने बताइएको छ ।