काठमाण्डौ । नेपाल वायुसेवा निगमले दुईवटा वाडबडी जहाज ए ३३०-२०० खरिद सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। निगमले पहिलोपटक वाइडबडी जहाज खरिद गर्न लागेको हो। 

जहाज खरिद सम्झौतामा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकार र जहाज विक्रेता कम्पनी एएआरका तर्फबाट नेवाल प्रतिनिधि दीपक शर्माले शुक्रबार हस्ताक्षर गरेका हुन्।  खरिद सम्झौताअघि बिहीबार र शुक्रबार पर्यटन मन्त्रालय, निगम सञ्चालक समिति तथा निगम व्यवस्थापन र विक्रेता कम्पनीबीच लामो गृहकार्य भएको थियो। 

सम्झौतापछि विना अवरोध आगामी प्रक्रिया पूरा गर्दै जहाज नेपाल ल्याउने सहमति दुई पक्षले गरेका छन्।  निगमका अनुसार सम्झौता अनुसार सन् २०१८ को दोस्रो त्रैमासिक अर्थात करिब एक वर्षभित्र दुबै जहाज कम्पनीले नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्नेछ। 

यसअघि कम्पनीले असोज २०७४भित्र एक र चैत २०७४ भित्र अर्को जहाज निगमलाई हस्तान्तरण गर्ने जानकारी सार्वजनिक भएको थियो। तर खरिद सम्झौतामा भने दुवै जहाज एकसाथ हस्तान्तरण गर्ने सहमति भएङ्को निगमले उल्लेख गरेको छ।  

दुई वाइडबडी जहाज थपेपछि अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल ५ जहाज पुग्नेछन्। अहिले दुई न्यारोबडी एयरबस ३२०-२०० र एक बोइङ ७५७-२०० जहाजलाई निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडाइरहेको छ। निगमका जहाज अहिले ८ अन्तर्राष्ट्रिय गन्तव्यसम्म पुग्छन्।  

निगमका अनुसार जहाज विक्रेता कम्पनीसँग सन् २०१६ को आधार मूल्यमा जहाज खरिद गरिनेछ। दुईवटा जहाजको मूल्य २० करोड ९३ लाख अमेरिकी डलर (झण्डै २१ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ) पर्नेछ। सम्झौतालगत्तै पहिलो किस्तावापत ३५ प्रतिशत रकम अर्थात करिब ७ अर्ब ६२ करोड रुपैयाँ पठाउनुपर्ने सम्झौता दुई पक्षबीच भएको छ। यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।