काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरण तोकिएकै मितिमा गराउन सबै राजनीतिक दलहरु सहमतिमा पुुगेलगत्तै बजारमा उछाल देखिएको छ । 

राजनीति संग्लिएसँगै लगानीकर्ताको आत्मबल बढी बजारमा सेयर खरीदको चाप्प उच्च बनेर नेप्से परिसूचकमा ३५.३८ अंकले वृद्धि भई १६९३.७२ अंकको उचाईमा पुुगेको हो । कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा ३ प्रतिशतको उछाल आएपछि सर्किट ब्रेकर लगाई कारोबार १५ मिनेट बन्द भएको थियो । त्यसपछि सुचारु बजारमा एकाएक सफ्टवेयर गडबडीको कारण देखाउँदै केही समय कारोबार स्थगित गरिएको थियो । बजार उछालको गतिमा कुदिरहेको बेला एकाएक सफ्टवेयरको खराबी देखाएर चलखेल भएको कतिपयको दाबी छ । तर नेप्सेका अधिकारीहरु भने यो आरोप मिथ्या रहेको जिकिर गर्छन् । 

बजारलाई बुलिस ट्रेण्डमा दौडाउन बिमा र बैंकहरुको महत्वपूर्ण भूमिका रह्यो । बिमा समूह एकैदिन ३१८.९३ अंकको उछाल आयो भने वाणिज्य बैंक समूह २.०४ अंकले वृद्धि भयो । 

यस्तै, विकास बैंक, बित्त, जलविद्युत र होटल समूह क्रमशः ३०.१९, १४.९९, २६.१२ र २.२ अंकले उक्लिए । उत्पादनमूलकमा ३५.४२ अंकको उछाल देखियो भने अन्य समूह १०.४१ अंकले बढ्यो ।

'क' वर्गका कम्पनीहरुको कारोबारमा सुधार आएसँगै सेन्सेटिभ इण्डेक्स ७.३८ र फ्लोट इण्डेक्समा २.५२ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ४२ कम्पनीका कुल २२ लाख २० हजार १ सय ७५ कित्ता सेयर १ अर्ब ५३ करोड ३८ लाख १८ हजार ८ सय १२ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी प्रभू बैंकले ७ करोड ६३ लाख बढीको कारोबार गर्यो । यस्तै, सिद्धार्थ इन्स्योरेन्सले ६ करोड ७० लाख, यूनाइटेड इन्स्योरेन्सले ६ करोड २५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ५ करोड ५८ लाख, सिद्धार्थ बैंकले ५ करोड ५३ लाख बढीको कारोबार गरे । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान बिमा कम्पनीले, २ स्थान वाणिज्य बैंक र एक स्थान जलविद्युत समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार राष्ट्रिय बिमा कम्पनी लिमीटेडका लगानीकर्ता मालामाल भए । यो कम्पनीको साधारण सेयर र संस्थापक सेयरको मूल्य नै १० प्रतिशतले वृद्धि भयो । यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन सबैभन्दा बढी माउण्ट मकालु डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.२५ प्रतिशतले घट्यो । नबील ब्यालेन्स फण्ड १ को मूल्य ५ प्रतिशत बढीले घट्यो ।