काठमाण्डौ । सातामा कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकले ऐतिहासिक उचाईं चुमेको छ । 
 

४ दशमलव ९८ अंकले उकालो लाग्दै नेप्से परिसूचक १३००.७६ अंकको ऐतिहासिक उचाईमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जको इतिहासमै नेप्से यति माथि उचाईमा कहिल्यै पुगेको थिएन । 
 

बिहीबार बजार खुल्दा नेप्से परिसूचक १२९५.८४ अंकमा सीमित थियो । कारोबारको पहिलो चरणमा नेप्से परिसूचक बढेर १३०१.४६ अंकमा पुगेको थियो । कारोबारको दोश्रो हाफमा चाहि केही घटेर नेप्से १३००.७६ अंकमा पुगेको हो । 
 

बिहीबार १० लाख ८४ हजार कित्ता शेयर २ हजार ९ सय ४७ वटा कारोबारबाट किनबेच हुँदा ६२ करोड २३ लाख पूँजी परिचालन भयो । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स पनि क्रमशः ०.९५ र ०.४४ अंकले उकालो लागे । 
 

बिहीबार बैकिंग समूहको शेयर कारोबारमा निराशा छायो भने बिमा समूहको कारोबारमा उछाल देखियो । बिमा समूहको सूचक एकैदिन ५२.६७ अंकले बढेको हो । 
 

उत्पादनमूलक र अन्य सुचक स्थिर छन् । बाँकी सबै सुचक हरियो भएका छन् । सबैभन्दा वढी बिमा ५२.६७ अंक र होटल ४०.३६ अंकले बढेको छ ।
 

दिनभरीमा सबैभन्दा बढी नेपाल ग्रामिण विकास बैंकको पाँच करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आरएमडिसीको पाँच करोड १० लाख रुपैयाँ, सानिमा बैंकको दुई करोड २४ लाख र नेको इन्स्योरेन्सको दुई करोड नौं लाख रुपैयाँको किनबेच भयो । 
 

बिहीबार नयाँ नेपाल लघुवित्त, मिथिला लघुवित्त, प्रभु इन्स्योरेन्स, ओरेन्टल होटल, अपि पावर, राप्तिभेरी विकास, सेती फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताको सम्पत्ति १० प्रतिशत हाराहारीले बढ्यो । 
 

अझै बढ्नसक्छ
बजारमा एकाएक उछाल आएर नेप्से परिसूचकले १३ सय अंकको ऐतिहासिक उचाई चुमेपछि शेयर विश्लेषक रविन्द्र भट्टराईले सम्हालिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । उनका अनुसार नेप्से परिसूचक अझै बढ्नसक्ने संभावना रहे पनि कम्पनीको अवस्थाको विषयमा अध्ययन गरेर मात्र शेयरमा लगानी गर्नुपर्ने हुन्छ । ‘बजार जुन अंकमा पुगेको छ, यो लगानीकर्ताका लागि खुशीको कुरा हो ।’ भट्टराईले भने–‘तर सबै कम्पनीलाई समान दृष्टिले हेर्नुभएन, कम्पनी छनौट गरेर मात्र लगानी गर्नुहोस् ।’ उनको विश्लेषणमा बजारको अहिलेको तरलता हेर्दा नेप्से अझै उकालो लाग्नसक्ने संभावना बढी छ । ‘जलविद्यूत लगानी कम्पनीको शेयर, इन्भेष्टमेन्ट बैंकको शेयर सूचिकरणपछि बजार अझ चम्किन सक्छ ।’ भट्टराईले भने–‘कृषि विकास बैंक लगायतका बित्तीय संस्थाले लाभांश घोषणा गरे भने त्यसले समेत बजारलाई चम्काउनेछ ।’