काठमाण्डौ । बैकिङ, बिमा र अन्य समूहको सूचक ओरालो लाग्दा केही दिनदेखि उकालो लागिरहेको नेप्सेमा ब्रेक लागेको छ । 

मंगलबार नेप्से परिसूचक ८.६४ अंकले घटी १४५३.११ अंकमा आइपुगेको हो । समग्र बजारको सूचक गिरावट हुनुमा बैकिङ, बिमा र अन्य समूहले महत्वपूर्ण भूमिका खेले ।  मंगलबार यी तीन समूहको नेप्से परिसूचक क्रमशः १५.५३, १५.३९ र ५.८७ अंकले ओरालो लाग्यो । 

बढ्दो क्रममा रहेको नेप्सेको यात्रामा ब्रेक लागे पनि कारोबार रकम भने एकअर्ब नजिक पुग्यो । मंगलबार १ सय ३४ कम्पनीका ९९ करोड ९६ लाख ५८ हजार रुपैयाँ बराबरका १७ लाख ४० हजार १ सय ७९ कित्ता शेयर किनबेच भयो । 

समग्र सूचकमा गिरावट आए पनि उत्पादन र होटल समूहको सूचकमा दोहोरो अंकको उछाल देखियो । उत्पादन समूहको सूचक ३४.८७ अंक र होटल समूहको सूचक २६.४२ अंकले उक्लियो । फाइनान्स, डेभलपमेन्ट बैंक समूहको सूचकमा झिनो मात्र वृद्धि भयो । मंगलबार बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सात करोड २३ लाख, एनबी बैंक ६ करोड ७३ लाख, मञ्जुश्री फाइनान्स पाँच करोड ६२ लाख, ग्लोबल आइएमइ पाँच करोड ३६ लाख, एनएमबी चार करोड ६९ लाख र स्ट्यान्डर्ड चार्टर्ड चार करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।