काठमाण्डौ । लामो समयदेखि अवरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)को ११ औं महाधिवेशन आगामी साउन २३–२५ गते काठमाण्डौमा हुने भएको छ । 

महाधिवेशन हुने निश्चित भएसँगै नेविसंघले साउन २२ गतेदेखि नै कार्यक्रमस्थल भृकुटीमण्डप बुकिंग गरेको बताइएको छ । 
आयोजकले भृकुटीमण्डपको भाडा बापत दैनिक २ लाख १० हजार रुपैयाँ तिर्नुपर्नेछ । समाज कल्याण परिषदका एक कर्मचारीले नेविसंघको पत्रका आधारमा साउन २२ गतेदेखि २५ गतेसम्मका लागि भृकुटीमण्डपको हल र चौर बुकिङ गरिएको बताए । चार दिनसम्म हल र चौरको भाडामा मात्रै ८ लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

महाधिवेशनमा करिब ३ हजार ४ सय प्रतिनिधि सहभागी हुने आयोजक समितिका एक नेताले जानकारी दिए । महाधिवेशनको मिति औपचारिक रुपमा भने सोमबारको केन्द्रीय समिति बैठकले तय गर्ने छ । ती नेताका अनुसार बैठकबाट मितिसहित स्थान तोकिनेछ भने आवश्यक तयारीका लागि विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरिनेछ ।