काठमाण्डौ । आकर्षक जागिरको लोभ र अध्ययनका लागि लण्डन जाने सोचिरहनुभएको छ ? यदि हो भने तपाईंको योजना अब पूरा नहुन पनि सक्छ । यूकेले साबिकको आप्रबासी कानूनलाई निकै कडा बनाएपछि अब यूरोपीय बाहेकका क्षेत्रबाट त्यहाँ काम वा अध्ययनका लागि जानेहरुले हतपत भिसा नै नपाउने अवस्था सिर्जना भएको छ । 

नेपाल जस्ता देशका नागरिकलाई ब्रिटेन(लण्डन)मा जागिर पाउने बिषय निकै कठीन हुनेछ । यूकेले मंगलबार स्पष्ट पारेको छ कि उसले यूरोपीयन देश बाहेकका लागि आफ्नो इमीग्रेसन नीतिलाई निकै कडा पार्न गइरहेको छ । यस्तो कदम ब्रिटेनमा बढ्न गएको आप्रबासलाई कम गराउने बिषयमा केन्द्रीत रहेको मिडिया रिपोर्टमा उल्लेख छ । ब्रिटेनको यो कदमपछि ब्रिटिस कम्पनीहरुलाई नेपाल, भारत जस्ता देशबाट दक्ष कामदार लगी आफ्नो देशमा जागिर दिने काम गर्न समेत निकै चुनौतिपूर्ण हुनेछ । 

ब्रिटेनका गृहसचिव अम्बेर रुडलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएअनुसार ब्रिटेन पछिल्लो समय आफ्नो देशमा बढिरहेको इमिग्रेसनलाई नियन्त्रण गर्न विभिन्न विकल्पहरुमा काम गरिरहेको छ । यसमा काम र अध्ययनका लागि ब्रिटेनमा बढेको माइग्रेसनको सवाल समेत सामेल छ । ब्रिटेनमा यूरोपियन बाहेकका देशबाट समेत वार्षिक हजारौं संख्यामा मानिसहरु काम तथा आकर्षक जागिरको खोजीमा पुग्ने गरेका छन् । 

छनौटअघि  कडा शर्त
रुडका अनुसार जब ब्रिटेनले देशमा विजिनेश  बढाउने योजना सार्वजनिक गर्छ, तब  इमीग्रेसनका हरेक स्रोत तथा सम्बद्ध निकायहरुको ध्यान त्यसतर्फ मोडिन्छ । विशेष गरी यस्तो आकर्षण काम र  पढाईको सिलसिलामा हुने इमीग्रेसनमा देखिएको छ । तर अब यो नीतिमा पनि व्यापक परिवर्तन गरिनेछ । विदेशी कामदारलाई ल्याउनुअघि विभिन्न कम्पनीहरुले समेत अब धेरै आधार तथा शर्तहरुमाथि विचार गर्नुपर्ने हुन्छ । ब्रिटेनको  यस्तो तयारीले नेपाल जस्तो देशबाट अध्ययन गर्न तथा कामको खोजीमा ब्रिटेन प्रवेश गर्नेहरुलाई निकै कठीन हुने देखिएको छ । ब्रिटिस कम्पनीहरुलाई समेत यो नीतिले अप्ठ्यारोमा पार्ने अनुमान गरिएको छ । 

भाडामा घर दिंदा पनि कडाई
नयाँ आप्रवासी नीतिअनुसार आउँदो डिसेम्बरदेखि ब्रिटेनमा घर भाडामा लगाउने कार्यमा समेत कडाई गरिएको छ । अब कुनै पनि घरधनीले आवश्यक सबै कागजात नहेरी  कुनै विदेशीलाई घर भाडामा दिन्छ भने कारबाहीको भागिदार घरधनी पनि हुने कानूनी व्यवस्था गरिएको छ । ब्रिटेनमा बस्ने अधिकार नभएकालाई  घर भाडामा लगाउने घरधनीमाथि गम्भीर अपराध गरेको मानिने र सोही  अनुसार  कडा कारबाही हुने बताइएको छ । त्यस्ता घरधनीलाई जेल सजाय हुनेछ । 

बैंक सुविधामा पनि कडार्इं
यति मात्र होइन, लण्डनका बैंकहरुले पनि आफूसँग रहेका अकाउण्टहरुको नियमित चेकजाँच थाल्नेछन् । कतै, कुनै गैरकानूनी आप्रबासीले त बैंक सुविधा पाइरहेको छैन भन्ने बिषयमा उनीहरुले नियमित नजर लगाउनेछन् । बाहिरबाट आएर लण्डनमा  बस्ने व्यक्तिहरुले चालक अनुमति पत्र पाउन पनि अब मुश्किल हुने भएको  छ ।