काठमाण्डौ । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष केशव घिमिरेले एक पीडित पत्रकारको परिवारसँग ४ लाख घूस मागेको सन्दर्भलाई छायाँमा पार्न खोजिएको भन्दै सो बिषय स्पष्ट पार्ने मागसहित एक साधारणसदस्यले शनिवार निवेदन दिएका छन् । 
 

महासंघका साधारणसदस्य तथा कार्यसमितिका पूर्व उपाध्यक्ष जनकऋषि राईले शनिवारको महासंघ बैठकमा अध्यक्षले ४ लाख मागेको बिषयमा स्पष्ट पार्न र पीडित पत्रकार परिवारसँग घूस माग्ने अध्यक्षमाथि कारबाही हुनुपर्ने माग गर्दै निवेदन दिएका हुन् । 
 

उनको निवेदन कार्यसमिति उपाध्यक्ष वेदराज पौडेलले बुझेर सो बिषयमा छलफल गर्ने वचन दिएका पत्रकार राईले जानकारी दिए । उनले निवेदनमा माघ २६ गते इटहरीमा भएको पत्रकार महासंघको १० औं साधारणसभामा अध्यक्ष घिमिरेसँग सम्बन्धित प्रश्न उठाएको, तर त्यसको जवाफ नपाएको उल्लेख छ । पत्रकार राईले साधारणसभामा केशव घिमिरेले पत्रकार हिमाल राईलाई जेलमुक्त गराउने भन्दै हिमाल राईकी पत्नीसँग ४ लाख रुपैयाँ रकम मागेको विषय प्रमाणसहित मिडियामा प्रकाशन भएको उल्लेख गर्दै सो बिषयमा छानबिन गर्न वा दोषी प्रमाणित भए अध्यक्षमाथि कारबाहीको माग गरेका थिए । साधारणसभामा अध्यक्षले ४ लाख घूस मागेको विषय उठेपछि यो सवाललाई अन्तै मोड्नका लागि घिमिरे समूहले कार्यसमिति कोषाध्यक्ष विकास राईलाई प्रयोग गरी हात हालाहालको अवस्था सिर्जना गरेको केहीको बुझाई छ । केशव घिमिरेमाथि गम्भीर आर्थिक अपचलनको आरोप लागेसँगै बहुसंख्यक सदस्यले कोषाध्यक्ष राईलाई हिसाबकिताब दुरुस्त नराखेको भन्दै आलोचना गरेका थिए । आफ्नो आलोचना गरेकै कारण खेलाडी समेत रहेका राईले वरिष्ठ पत्रकार सुविद गुरागाईं लगायतलाई साधारणसभामै कुटपिट गरेका थिए । त्यसपछि अन्य पत्रकारहरु समेत उनीमाथि जाइलागेका थिए । केहीबेर रणसंग्राम बनेको महासंघको साधारणसभा हलमा प्रहरी नै परिचालन गर्नुपरेको थियो । विकास राईको बिषयले अध्यक्ष घिमिरेमाथि छानबिन हुनुपर्ने माग छायामा पारेर हतार हतार अध्यक्षको प्रतिवेदन पास भएको एकतर्फी घोषणा गरिएको थियो । केशव घिमिरे माओवादी निकट क्रान्तिकारी पत्रकार संघसँग आबद्ध व्यक्ति हुन् । साधारणसभामा केन्द्रीय प्रतिनिधिको रुपमा क्रान्तिकारीबाटै केन्द्रीय सदस्य भएका गणेश लम्साल र महासचिव उजिर मगर सहभागी थिए । दुवैले समेत मिलाएर केशव घिमिरेलाई बचाउने उद्देश्यले साधारणसभालाई टुंग्याएका थिए । आफ्नो मुद्धा नियोजित ढंगले छायामा पारेपछि बहुसंख्यक पत्रकारहरुको साथ लिएर राईले निवेदन दिएका बुझिएको छ । 

उनले निवेदनमा हिमाल राईको परिवारसँग कुन सन्दर्भमा केशव घिमिरेले ४ लाख मागेको हो यो बिषयमा स्पष्ट पार्नुपर्ने माग गरेका छन् । यसैगरी, सो बिषय जोडेर प्रमाणसहित विभिन्न संचारमाध्यममा प्रकाशित समाचारको बिषयलाई समेत स्पष्ट पार्न आग्रह गरेका छन् । साधारणसभा महासंघका साधारण सदस्यले चाहेको जवाफ पाउने थलो भए पनि आफूहरुमाथि अन्याय गरिएको उल्लेख गर्दै राईले आफूले जवाफ पाउनुपर्ने जिकिर गरेका छन् । उनले जवाफ नदिए जुनसुकै बैधानिक बाटोबाट अघि बढ्ने समेत चेतावनी दिएका छन् । 
 

आर्थिक अपचलनको विवादमा तानिएका अध्यक्ष घिमिरेले भने आफूले रकम नमागेको प्रारम्भदेखि नै दाबी गर्दै आएका छन् । तर उनले ४ लाख रुपैयाँ दिए हिमाल राईलाई जेलमुक्त गराउन सकिन्छ भनी एक वकिलसँग मिलेर राई पत्नीसँग गरेको कुराकानीको अडियो रेकर्ड सार्वजनिक भएको थियो । वरिष्ठ पत्रकार राईलाई नाम मिलेकै कारण झूठा आरोपमा प्रहरीले हिरासतमा लिई पुर्पक्षका लागि भन्दै झुम्कास्थित जेलमा राखेको थियो ।