काठमाण्डौ । देशमा सबैभन्दा बढी मूल्यवृद्धि कहाँ भइरहेको होला ? धेरैको उत्तर हुनसक्छ-राजधानी काठमाण्डौमा । तपाई पनि यही सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको भदौसम्मको पहिलो द्वैमासिक समीक्षा रिपोर्ट सार्वजनिक गर्दै मुद्रास्फिति पहाड र तराईको भन्दा काठमाण्डौमा कम रहेको अनौठो तथ्यांक सार्वजनकि गरेको हो ।

साउन र भदौ महिनामा उपभोक्ता मुद्रा स्फिति सबैभन्दा बढी पहाडमा १०.३ प्रतिशत रहेको छ । हिमालमा ७.५, तराईमा ७.४  रहेको छ भने सबैभन्दा कम काठमाण्डौ उपत्यकामा ६.६ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको साउन र भदौ महिनामा भने सबैभन्दा बढी मुद्रा स्फिति काठमाण्डौ उपत्यकामा रहेको थियो । सो बेला काठमाण्डौ उपत्यकाको मुद्रा स्फिति दर ८.२ प्रतिशत थियो भने सबैभन्दा कम हिमालमा ६.१ प्रतिशत थियो । पहाडमा ७.२ प्रतिशत रहेकोमा तराईमा ६.६ प्रतिशत मात्र मुद्रास्फिति थियो । 

अघिल्लो आ.ब.को तुलनामा यो आबमा पहाडमा महंगीले डाँडा काटेको देखिएको छ भने हिमाल र तराईका बासिन्दालाई समेत महङ्गीको मार बढेको देखिएको छ । 

राष्ट्रबैंकको रिपोर्ट अनुसार अघिल्लो आबको साउन र भदौको तुलनामा यो वर्षको सोही अवधिमा गैरखाद्य तथा सेवा समूहतर्फको मुद्रास्फिति बढेको छ । अघिल्लो वर्ष ६.६ प्रतिशत रहेको यस्तो क्षेत्रको मुद्रास्फिति दर यो वर्ष ८.१ प्रतिशत पुगेको छ । विविध वस्तु र सेवाहरुको मूल्य १३.६ र लत्ताकपडा र जुत्ताको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको अध्ययनमा देखिएको छ । 

खाद्यतर्फको मुद्रास्फिति चाहि गत वर्षको भन्दा केही कम भएको छ । ८ प्रतिशत रहेको मुद्रास्फिति यो वर्ष ७.७ प्रतिशतमा झरेको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य २०.६ प्रतिशत, फलफूलको मूल्य १६.६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्य १४.४ प्रतिशत र मदिराको मूल्य १३.४ तथा मसलाको मूल्य १२.६ प्रतिशतले वृद्धि भएको छ । 

समग्र उपभोक्ता मुद्रा स्फिति चाहि घट्दै गएको देखिएको छ। २०७३ साउन महिनामा ८.६ प्रतिशत रहेको मुद्रास्फिति भदौ महिनामा ७.९ प्रतिशतमा झरेको केन्द्रीय बैंकको भनाई छ । २०७२ भदौ महिनामा यस्तो मुद्रास्फिति ७.२ मात्र थियो ।

अघिल्लो वर्ष भदौसम्ममा वार्षिक विन्दूगत थोक मुद्रास्फिति दर ५.१ रहेकोमा यो वर्ष बढेर ५.३ प्रतिशत पुगेको छ । 

बढ्यो बस्तु निर्यात
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल वस्तु निर्यात भने बढेको छ । ७.७ प्रतिशतले निर्यात वृद्धि भई १३ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात १५.२ प्रतिशतले कमी आएको थियो । यो अवधिमा भारतभन्दा चीनतर्फको वस्तु निर्यात उच्च दरमा बढेको देखिएको छ । चीनतर्फ २४.५ प्रतिशतले बढेको वस्तु निर्यात भारततर्फ ९ प्रतिशतमा सीमित छ । यसको अर्थ नेपाली उत्पादन चिनियाँ बजारमा निर्यातको क्रम बढेर गएको देखिएको छ । भारतको विकल्पको रुपमा चिनियाँ बजार नेपाली उत्पादनका लागि भरपर्दो विकल्प बन्न थालेको समेत यो रिपोर्टले देखाएको छ । 

समीक्षा अवधिमा कुल वस्तु आयात उच्च प्रतिशतमा बढेको छ । ४३.४ प्रतिशतले त्यस्तो आयातमा वृद्धि भई १४९ अर्ब २  करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.५ प्रतिशतले घटेको थियो । यो अवधिमा कुल वस्तु व्यापार घाटा ४८.१ प्रतिशतले बढी १३५ अर्ब ८४ करोड पुगेको बताइएको छ । 

घट्यो रेमिटान्स
समीक्षा अवधिमा विप्रेषणको आप्रवाह ६.६ प्रतिशतले वृद्धि भई ११४ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणको आप्रवाह २७.५ प्रतिशतले वृद्धि भएको थियो । 

आर्थिक वर्ष २०७३/७४ को दुई महिनासम्मको  आयातलाई आधार मान्दा बैकिंग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १४.१ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्रबैंकको अध्ययनले देखाएको छ ।