काठमाण्डौ । नेपाल वायु सेवा निगमले पाइलटको भत्ता ४० देखि ५० प्रतिशत बढाउने तयारी गरेको छ । पछिल्लो समय पाइलट अभाव बढ्दै गएपछि भत्ता बढाउने तयारी गरिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले केही महिना अगाडि पनि पाइलटको भत्ता बढाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत फाइल अर्थ मन्त्रालय पठाइएको छ ।

अर्थ मन्त्रालयले निगम र मन्त्रालयले गरेको तयारीलाई पुनः अध्ययन गरेर पठाउन आग्रह गर्दै फाइल फिर्ता गर्दा भत्ता बढाउने प्रक्रिया ओझेलमा परेको थियो । तर, नेवानिले भने पाइलट अभाव थेग्ने र जागिर छोड्ने संख्या बढेको भन्दै फेरि अर्थ मन्त्रालयको आग्रहअनुसार निगमले पहिलेको प्रावधानमा केही परिर्वत गर्दै भत्ता वृद्धिका लागि फाइल अर्थमा पठाइसकेको कंसाकारले बताए ।

‘फाइल निगम सञ्चालन बोर्डबाट पारित भएर अर्थमा पुगेको छ’, उनले भने, ‘अर्थबाट स्वीकृत भएको अवस्थामा पाइलटले अहिले पाउँदै आएको सेवा सुविधामा थप ४० देखि ५० प्रतिशतसम्म भत्ता पाउनेछन् ।’ विदेशी तथा निजी एयरलाइन्स कम्पनीका कार्यरत पाइलटले अधिकतम आठ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । तर, नेवानिमा कार्यरत पाइलटको तलब न्यूनतम एक लाखदेखि अधिकतम तीन लाख छ । तलब कम भएका कारण नेवानिका पाइलटल जागिर छाडेर अन्यत्र जाने गरेका छन् । यसका कारण पछिल्लो समय निगमले पाइलट अभावको समस्या भोग्दै आउनुपरेको कंसाकारको भनाइ छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।