काठमाण्डौ । पाकिस्तानको ६ ठूला वाणिज्य बैंकमध्येको एक यूनाइटेड बैंक लिमीटेड(यूबिएल)ले देशको इतिहासमै पहिलोपटक कुनै महिलालाई बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनाएको छ । 

सीमा कामिल जुन महिनादेखि आधिकारिक रुपमा कार्यभार सम्हाल्नेछिन् । सीइओको रुपमा नियुक्त हुुनुुअघिसम्म उनी सोही बैंकको डेपुटी सीइओको रुपमा कार्यरत रहेकी थिइन् । 

सीमा पाकिस्तानकी एक प्रमुख बैंकर हुन् र उनी विगत तीन दशकदेखि यो क्षेत्रमा सक्रिय रहेकी बीबीसीले जनाएको छ । 

उनले ८० को दशकमा लण्डनको किङ्ग्स्टन विश्वविद्यालयबाट बीबीएको डिग्री हासिल गरेकी थिइन् । त्यसपछि त्यहीको सिटी विश्वविद्यालयबाट उनले एमबीएको अध्ययन पूरा गरेकी थिइन् । 

पाकिस्तान आएलगत्तै उनले अमेरिकन एक्सप्रेस बैंकबाट आफ्नो बैकिङ करिअर सुरु गरेकी थिइन् । त्यसपछि उनले ग्रन्डलेज बैंकमा समेत काम गरिन् । यो बैंक पछि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा बिलय भएको थियो । 

यसपछि सीमाले हबीब बैंक लिमीटेडमा १६ वर्षसम्म शाखा बैकिंग, कर्पोरेट इन्भेष्टमेन्ट र रिस्क म्यानेजमेन्ट जस्तो महत्वपूर्ण विभाग सम्हालिन् । उनले यति आफू जीवनमा कुनै बैंकको अध्यक्ष बनूँला भनेर कहिल्यै नसोचेको भनेर बीबीसीलाई प्रतिक्रिया दिएकी छिन् । 

उनले भनेकी छिन्–‘पाकिस्तानमा मात्र होइन, विश्वका हरेक देशमा एउटी महिलालाई माथि पुुग्न निकै कठीन छ । तर मलाई बैकिंग क्षेत्रमा महिला भएकै कारण कुनै दिक्दारी भएन । हाम्रो देशमा महिलालाई आफ्नो प्रमुखको रुपमा हेर्न पुरुषले चाहदैनन् भन्ने कुरा सरासर गलत हो ।’ 

उनका अनुसार लगभग २० करोड आवादी भएको मुलुकमा धेरै कम मानिस मात्र बैकिंग प्रणालीमा जोडिएका छन् । आगामीमा दिनमा जनतालाई बैंक आफूहरुका लागि नै हो भन्ने कुरा बुुझाउने काम नै आगामी दिनको मुख्य चुनौति भएको सीमाले बताएकी छिन् । 

सीमालाई बैकिङ अलावा शिक्षाको क्षेत्रमा समेत निकै रुचि रहेको छ, यही कारण उनी कराची ग्रामर स्कूलको निर्देशक मण्डलको अध्यक्ष समेत छिन् । उनले भविष्यमा आफ्नै स्कूल स्थापनाको सपना सँगालेकी छिन् । 

स्मरणरहोस्, नेपालमा हालसम्म कुनै पनि महिला बैंकको सीइओ बन्न सकेका छैनन् ।