काठमाण्डौ । भारतको मुम्बई जानुहोस् या दिल्ली वा अन्य कुनै सहर, त्यहाँ रहेका चोरबजारहरु निकै चर्चित छन् । नेपाली व्यवसायी र सर्वसाधारण समेत चोर बजारमा सामान सस्तोमा पाइने भन्दै त्यहाँ पुग्ने गर्छन । भारतमा यस्ता ठूला चोर बजार छन्, जहाँ चोरीको सामान सस्तोमा पाइन्छ । यिनीहरुले गर्ने व्यापारको भोल्यूम पनि निकै ठूलो छ । यी बजारहरुमा चोरीका जुत्ता, मोवाइल, ग्याजेट, अटो पार्टसदेखि लिएर चोरीकै कारसम्म पनि खरीद गर्न पाइन्छ । भारतका यी चोर बजारहरुमा चोरीका बाइक र गाडीहरुलाई केही मोडिफाई गरेर बिक्री गरिन्छ । यस्ता बजारको आसपासमा आफ्नो गाडी तथा बाइक पार्क गर्नु समेत निकै खतरनाक र जोखिमपूर्ण हुन्छ । यदि भूलवश तपाईंले आफ्ना गाडी चोरबजारमा पार्क गर्नुभयो भने क्षणभरमै तपाईंको गाडीको कुनै पार्टस हराउन सक्छ र त्यो पार्टस चोर बजारको कुनै पसलमा फेला पार्न सक्नुहुनेछ । यी हुन भारतका प्रमुख चोर बजारहरु :

मुम्बई चोर बजार
मुम्बईको चोर बजार दक्षिणी मुम्बईको मटन स्ट्रीट मोहम्मद अली रोड नजिकै अवस्थित छ । यो बजार करिब १ सय ५० वर्ष पुरानो हो । यो बजारलाई पहिला ‘शोर बजार’ भनिन्थ्यो, ‘शोर’को अर्थ हिन्दीमा आवाज निकालेर कराउनु हो, अर्थात यहाँका व्यापारी पहिला ठूलो स्वरमा कराउँदै ग्राहकहरुलाई बोलाउथे । तर यहाँ आउने अंग्रेजहरुले शोरलाई गलत ढंगले उच्चारण गरी ‘चोर’ भन्न थालेपछि अन्ततः यो बजारको नाम नै ‘चोर बजार’ रहन पुग्यो । 

यो बजारमा सेकेण्ड ह्याण्ड कपडा, अटोमोवाइल्सका पार्टस्, चोरीको घडी, चोरीकै सजावटका सामान पाइन्छ । जानकारहरुका अनुसार यो क्षेत्रमा रेष्टुरामा समेत राम्रै भीड लाग्छ । यहाँ कवाबको आइटम निकै प्रख्यात छ । यो बजार घुम्न जानेले पाकेटमारहरुदेखि निकै सावधान हुनुपर्ने भारतीय मिडियाहरुले बताएका छन् । यो बजारसँग जोडिएको ऐतिहासिक कहानी समेत निकै रोचक छ । मुम्बईको यात्राको दौरान रानी भिक्टोरियाको महंगा सामान पानीजहाजमा लोड गर्ने क्रममै चोरी भएको थियो । रानीको सामान केही दिनपछि मुम्बईको यही चोर बजारमा फेला परेको थियो । 

दिल्लीको चोर बजार


यो भारतकै सबैभन्दा पुरानो ‘चोर बजार’ हो । पहिला यो बजार सण्डे मार्केटको रुपमा लालकिल्लाको पछाडिको क्षेत्रमा लाग्थ्यो । तर अहिले यो बजार दरियागञ्जको जामे मस्जिदको छेउमा लाग्ने गर्छ । यो बजार मुम्बईको चोरबजार भन्दा केही फरक छ । यो बजारलाई कतिपयले कवाडी बजार पनि भन्ने गर्छन । यहाँ हार्डवेयरदेखि लिएर किचन र इलेक्टोनिक्सका सामान समेत पाइन्छ । 

यो बजार जामे मस्जिदको छेउमा हरेक आइतबार लाग्छ । यहाँ कुनै सामान खरीद गर्न मन भए आफूले रोजेको सामानको गुणस्तरमा आफैं चनाखो हुनुपर्छ, कारण बिक्रेताले जति नै गुणस्तरीय सामान हो भनेर गफ दिए पनि वास्तविकता ठीक उल्टो हुन्छ । यो बजारसँग जोडिएको किम्बदन्ती(किस्सा) पनि निकै रोचक छ । कुनै समय यहाँ एक व्यक्तिले आफ्नो कार पार्क गरेका थिए, केहीबेर बजार डूलेर फर्किँदा चोरहरुले उनको गाडीको टायर फूकालेर गायब पारिसकेका थिए । खोज्दै जाँदा ती सज्जनले आफ्नो गाडीबाट चोरी गरिएको टायर कुनै दोकानमा किनबेचका लागि बार्गेनिङ हुँदै गरेको भेटे । त्यसपछि नै यो बजारको नाम ‘चोर बजार’ रहन गयो । 

यूपीको चोर बजार


यूपीको मेरठको सोतीगञ्ज मार्केट पनि चोर बजार हो । यो बजारलाई चोरीका स्पेयर पार्टस् र गाडीहरुको मुख्य अखडा नै मानिन्छ । यो बजारमा सबै खालका गाडीहरुको पार्टस् सस्तोमा पाइन्छ, कारण सबै खालका गाडीबाट चोरिएको पार्टस यहाँ आइपुग्छन । यहाँ चोरी र पुरानो मात्र होइन, दुर्घटनामा खराब भएको गाडी समेत ल्याइने गरिन्छ । 

यो बजार मेरठ सहरमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुल्छ । यहाँ सामान खरीद गर्दा तपाईंलाई सही डिलर खोज्नु निकै चुनौतिपूर्ण हुनेछ । यो बजारमा १९७९ को अम्बेस्डर गाडीको ब्रेक पिस्टनदेखि लिएर १९६० मा बनेको महिन्द्रा जीप क्लासिकको गियर बक्स र वल्र्ड वारमा प्रयोग भएको विलिज जिपको टायरसम्म पाइन्छ भनिन्छ । 

बंगलुरुको चोर बजार

दिल्ली र मुम्बईको तुलनामा यो चोर बजार खासै चर्चित भने होइन । यो बजार बंगलुरुको चिकपेटे भन्ने स्थानमा हरेक आइतबार लाग्छ । यहाँ सेकेण्ड ह्याण्ड वस्तु, ग्रामोफोन, चोरीको ग्याजेट्स, क्यामेरा, इलेक्ट्रोनिक आइटम र सस्तो जिम उपकरण पाइन्छ । यो बजार गाउँमा लाग्ने बजार जस्तै आइतबार लाग्छ । 

चेन्नईको चोर बजार


केन्द्रीय चेन्नईमा रहेको चोर बजार अटो नगरमा पुरानो र चोरीको कारलाई मोडिफाई गरिन्छ । यहाँ हजारौको संख्यामा चोरीका सामान बिक्री हुने दोकानहरु राखिएका छन् । यी दोकानहरु गाडीको ओेर्जिनल पार्टस पूर्जालाई अदलबदल गर्ने मामलामा निकै चर्चित छन् । कारण, यो काममा र यो बजारमा अन्तर्राष्ट्रिय एक्सपर्टहरु नै सहभागी हुन्छन् । यहाँ गाडीहरुको तमाम स्पेयर पार्टस सस्तोमा पाइनुको साथै भनेजस्तो आकार, साइज र रंगमा आफ्नो गाडीलाई मोडिफाई गर्नेहरुको चाहना पूरा हुन्छ । यो चोर बजार गाडीलाई बदल्नका लागि सबैभन्दा राम्रो थलो हो । यो बजारमा प्रहरीले समेत कयौं पटक छापामारी गरिसकेको छ, तर पनि यो बजार बन्द  हुनुको साटो झनै चम्किइरहेको छ । 

यो बजार चेन्नईको एग्मोर ट्रेन स्टेसनदेखि १ किलोमिटरको दूरीमा अवस्थित छ । यो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्छ । यो बजारमा आफ्नो गाडी वा बाइक कहिल्यै पनि पार्क नगर्नुहोस् । गल्तीले पार्क गर्नुभयो र केहीबेर कतै हराउनुभयो भने तपाईं फर्कदा तपाईको गाडी वा बाइकको पार्टस कुनै दोकानमा मोलतोल भइरहेको हुनसक्छ । 

बिजशाला / एजेन्सी