काठमाण्डौ । आगामी पुस ५ देखि ११ गतेसम्म राजधानीको भृकुटीमण्डपमा नेपाली जुत्ताचप्पल तथा छालाजन्य बस्तुहरुको १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । यसपटक स्वदेशी बुट र स्वदेशी सुटको एकसाथ प्रदर्शनी हँुदैछ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको जुत्ताचप्पल र छालाजन्य वस्तुको प्रदर्शनीको १३ औं संस्करणमा कपडा तथा सिलाई व्यवसायी संघको समेत सहभागिता रहेपछि यो वर्षको मेला स्वदेशी बुट र सुटको वृहत प्रदर्शनीमा परिणत हुने भएको हो । 

“आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा जुत्ता र लत्ताकपडाका कुल १२५ स्टलहरु रहने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा आकर्षक डिजाइनका सर्टिङ सुटिङ्गका डिजाईन तथा फुड स्टलहरु समेत प्रदर्शनीमा रहनेछन् । जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिनेछन् ।

पत्रकार सम्मेलनमा बताइए अनुसार नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरुको संख्याको यकिन नभए पनि घरेलु तथा साना उद्योग विभाग र समितिअन्तर्गत दर्ता भएका ८५०, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका २०६, परम्परागत शिपमा आधारित दर्ता नभएका अनुमानित ५०० र हस्तकलाजन्य ऊन र प्राकृतिक रेसामा आधारित करिब ५०० गरी करिब २००० उद्योग तथा व्यवसायी रहेका छन् । यी उद्योगहरुमा  झण्डै ५५ हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । जसमध्ये ३५ प्रतिशतको संख्या महिलाको छ । 

आयोजककाअनुसार नेपाली बजारमा जुत्ताचप्पलको माग करिब ५ करोड जोर रहेको छ, यो भनेको देशको कूल मागको ६० देखि ६५ प्रतिशत हो ।

पत्रकार सम्मेलनमा बताइए अनुसार प्रदर्शनीस्थलबाट खरिद गरिएका जुत्ताचप्पल र अन्य वस्ुतमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सर्ट, पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु समेत बिशेष डिस्काउन्टमा उपलब्ध गराइने बताइएको छ । शारीरिक रुपमा अशक्त र जेष्ठ नागरिकहरुले भने निःशुल्क प्रवेश पाउनेछन् । यस्तै, स्कूल र कलेजबाट अवलोकनका लागि आउने विद्यार्थीहरुलाई समेत प्रवेश शुल्क नलाग्ने बताइएको छ । 

प्रदर्शनीको एकलाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए ।