काठमाण्डौ । बुल हुँदै गएको पूँजीबजारमा तीन दिनदेखि नयाँ–नयाँ रेकर्ड बनिरहेको छ । यही क्रममा मंगलबार समेत बजारले दुईवटा नयाँ रेकर्ड बनाएको छ । पूँजीबजारमा यो दिन नेप्से इण्डेक्स अहिलेसम्मकै सर्वाधिक उचाईमा पुगेर तथा कारोबार रकम समेत अहिलेसम्मकै उच्च भई दुई नयाँ रेकर्ड बनेको हो । 

मंगलबार नेप्से परिसूचक २०.४६ अंकले बढ्दै साढे १५ सय नजिक पुगेको छ । १५४४.५३ अंकमा नेप्से परिसूचक पुग्दा मंगलबार एकैदिन १३९ कम्पनीका ४० लाख ६२ हजार ७ सय ९५ कित्ता शेयर १ अर्ब ६५ करोड ५३ लाख रुपैयाँमा किनबेच भयो । एकैदिन यति धेरै शेयर किनबेच भएको यो नै पहिलो घटना हो । 

मंगलबार बिकास बैंक, बिमा र वाणिज्य बैंकहरुले बजारलाई डोहोर्याए । यी तीनवटै समूहको परिसूचक दोहोरो अंकको साथ उकालो लाग्यो । विकास बैंक समूह सबैभन्दा बढी ४२.५५ अंकले उकालो लाग्यो भने वाणिज्य बैंक २५.५२ अंकले उक्लियो । बिमा समूहको सूचक ४१.५ अंकका साथ उकालो लाग्यो । बित्त समूहले पनि बुधबार ८.८३ अंकको उकालो यात्रा समात्यो । जलविद्युत समूह ०.२६ को झिनो अंकका साथ उकालो लाग्दा उत्पादनमूलक, होटल र अन्य समूहको परिसूचकमा रातो पोतियो । बजारमा दुईवटा नयाँ रेकर्ड बने पनि उत्पादनमूलक समूह ६५.८५ अंकका साथ ओर्लियो भने  होटल समूह करिब ५ अंकले ओरालो लाग्यो । अन्य समूहको सूचक ३.५३ अंकका साथ तल झर्यो । 

मंगलबार सेन्सेटिभ इण्डेक्स ४.६५ र फ्लोट इण्डेक्स १.६२ अंकले उक्लिए । 

मंगलबार सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ८ करोड ७८ लाख बराबरको शेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको ८ करोड ४७ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको ७ करोड ३५ लाख, सानिमा बैंकको ६ करोड ११ लाख, रिलायवल डेभलपमेन्ट बैंक लिमीटेडको ५ करोड ९२ लाख,  हिमालय जनरल इन्स्योरेन्सको ५ करोड ४७ लाख, नवील बैंकको ५ करोड २६ लाख बराबरको शेयर किनबेच भयो । 

मंगलबार ५ कम्पनीले करिब १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । तीन कम्पनीले ५ प्रतिशतको हाराहारीमा गुमाउनु परेको छ । 

कन्काई विकास बैंक लिमीटेड, एनएलजी इन्स्योरेन्स, रिदी हाइडोपावर कम्पनी, यूनाइटेड इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेड लगायतले धेरै गुमाउनुपरेको छ ।